कोरोना नियन्त्रणबाहिर जाँदैछ : कांग्रेस

राजनीति

११ भाद्र, काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्था आएको बताएको छ । कांग्रेसको कोरोना अनुगमन समितिले सरकारको अकर्मण्यता र संवेदनहीनताका कारण नागरिक जीवन अत्यन्त संकटमा पुगेको भन्दै तत्कालै १३ काम गर्न सरकारलाई सुझाएको हो ।

अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतले बुधबार प्रेसनोट जारी गर्दै ‘सरकारले निषेधाज्ञामात्रै लागाएको तर त्यसपछि के गर्ने ? भन्ने प्रष्ट नपारेको’ भन्दै ‘कोरोना रोकथाम तथा नियन्त्रणको अल्पकालीन र दिर्घकालीन योजना ल्याउन’ माग गरे ।

‘अहिलेसम्म सरकार दिशाविहीन र योजनाविहिन छ, यस अवस्थामा कोरोना संक्रमण नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गरियोस्,’ प्रेसनोटमा भनिएको छ ।

लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्नेबाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असर कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको कांग्रेसले ठहर छ ।

यसैगरी, संक्रमण फैलदै गएको वर्तमान अवस्था ध्यानमा राखी हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने व्यवहारिक नभएकाले तत्काल आवश्यक संख्यामा निजी अस्पताललाई कोरोना अस्पताल घोषणा गर्न कांग्रेसले माग गरेको छ ।

त्यस्तै, अस्पतालमा आवश्यक अक्सिजन पूर्ण सुनिश्चितता र भेन्टीलेटर तत्काल व्यवस्था गर्न, स्वास्थ्यकर्मीलाई बिमा कार्यान्वयन र कोरोना जोखिम भत्ता व्यवस्था गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार र भौतिक आक्रमण रोक्न, संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको उद्धार र उपचार व्यवस्था गर्न, संक्रमणको सर्भिलेन्स र टे«सिङ आधारमा संक्रमण सम्भावना ज्यादा भएका स्थानमा पीसीआर परीक्षण बढाउन माग गरेको छ ।

यसैगरी, उपचारक्रममा उपयोगी औषधि सुलभ मूल्यमा तत्काल सहज उपलब्धता सुनिश्चित गर्न, स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीको कोरोना संक्रमण व्यवस्थापकीय तालिम विस्तार गर्न, हवाई तथा स्थलमार्गबाट स्वदेश फर्कने नेपालीलाई व्यवस्थित आइसोलेसन र क्वारेन्टाइन व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

त्यस्तै, देशभर आवश्यक मात्रामा आइसोलेसन र क्वारेन्टाइन स्थानीय सरकारको सहकार्यमा तत्काल बनाउन, कोरोना संक्रमण भएकालाई लक्षणको स्वरुप हेरी आइसोलेसन वा उपचारमा राख्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने केन्द्रीकृत र अव्यवहारिक निर्णय तत्काल फिर्ता गरी सम्बन्धित अस्पतालले निर्णय गर्ने व्यवस्था गर्न र शैक्षिक वर्ष खेर नजानेगरी उच्चशिक्षा तहको परीक्षा वैकल्पिक विधि अपनाएर सञ्चालन गर्न माग कांग्रेसले गरेको छ । आजको राजधानी दैनिक मा खबर खबर छ।