६ भाद्र, काठमाडौं । नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ ।
कोभिड–१९ बाट संक्रमित सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा छन्।
धनुषामा गत जेठ १३ गते पहिलो पटक सेनाका दुई जनामा कोभिड–१९ संक्रमण देखिएको थियो ।
पछिल्लो समय नेपालगञ्जस्थित तालीम केन्द्रमा एकै पटक २५ जनामा उक्त संक्रमण देखिएको प्रवक्ता पौडेलले जानकारी दिए।
उनले भने, “मुलुकमा कोभिड–१९ को संक्रमण बढ्न गई आइसोलेशनको अभाव हुने अवस्था देखेर सैनिक जनशक्तिका लागि ब्यारेकभित्रै आइसोलेसन बनाएर कार्यान्वयनमा ल्याउने कार्यको शुरुआत भइसकेको छ ।”