रोनाल्डोले तोडे ८६ वर्ष पुरानो कीर्तिमान

खेलकुद

टुरिन । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसमा ८६ वर्ष पुरानो कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा फ्रेन्च क्लब लियोनविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले ८६ वर्ष पुरानो कीर्तिमान तोड्दै युभेन्टसका लागि एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

रोनाल्डोले यो सिजन युभेन्टसबाट ४६ खेलमा ३७ गोल गरेका छन् । सन् १९३३–३४ को सिजनमा युभेन्टसका लागि फेलिस प्लासिडो बोरेलले एकै सिजनमा सर्वाधिक ३६ गोलको कीर्तिमान बनाएका थिए । रोनाल्डोले यसअघि सिरी ‘ए’मा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका थिए । युभेन्टसलाई लगातार नवौं सिजन सिरी ‘ए’ च्याम्पियन बनाउँदा ३१ गोल गरेका थिए । ३५ वर्षे रोनाल्डोले यो सिजन सिरी ‘ए’मा ३१, च्याम्पियन्स लिगमा ४ र अन्यमा दुई गोल गरेका थिए ।