कोरोनाको उच्च जोखिममा उपत्यका

Top Post समाचार

११ साउन, काठमाडौँ। अमेरिका र युरोपजस्ता देशले त सकिरहेका छैनन्, हामीले कसरी सक्नु ? विगतमा जिम्मेवार व्यक्तिहरूले मुखबाट फुत्तफुत्त निकालिरहने वाणी हो यो । आज चामत्कारिक ग-यौं भन्दै छन् । काम गर्ने स्वास्थ्य तथा सफाइकर्मीले पीपीई माग्दा अमेरिकामा त अभाव छ । हामीले कसरी पु-याउने भनेर प्रतिप्रश्न गर्ने हाकिम र मास्क माग्दा युरोपमा त चार दिन लगाउँछन्, हामी हरेक दिन कसरी फेर्न सक्छौ ? भन्दै छन्, आज पनि ।

पछिल्लो समयमा परीक्षणका साथसाथै पहिचान अर्थात् कोरोना पुष्टि उल्लेखनीय रूपमा वृद्धि नभएको तथा निको हुनेको संख्यामा वृद्धि र जटिलता तथा मृत्यु हुनेको संख्यामा अति नै कमी देखिएकाले धेरैले यसलाई गम्भीर रूपमा लिन छाडेको देखिँदै छ । न त बिरामी, न त कुरुवा कसैले पनि सुरक्षा सावधानी अपनाएको पाइँदैन । मास्क पनि लगाउँदैनन । हात पनि धुदैनन । सामाजिक दूरी पनि कायम नगरी समूहमै बस्ने, गफिने गरेका छन् । अस्पतालले ठाउँ ठाउँमा टाँसेका सन्देशमूलक सामग्री नपढेका होइनन् तर व्यवहारमा ल्याएका र पालना गरेका छैनन् । सचेत भए पनि अटेरी गरिरहेका छन् । अस्पतालले पीपीई, हात धुने स्टयान्ड, सामाजिक दूरी र स्यानिटाइजरको उपलब्धता चुस्त बनाई सेवा प्रवाह गर्ने केहीमा पनि सेवाग्राहीहरू अटेरी भइरहेका देखिन्छन् ।

सम्पर्कमा आउँदैनन संक्रमित : उदाहरणका लागि मन्त्रालयले २३ असारमा भक्तपुरका चारसहित उपत्यकामा २८ जनामा संक्रमण देखिएको सार्वजनिक ग-यो । भक्तपुरका चारमध्ये पाटन अस्पतालमा स्वाब दिएकी गठ्ठाघरकी महिला सम्पर्कमा आइनन् । वडाध्यक्षले नाम, थर, उमेरको आधारमा खोजी गरे पनि भेट्न सकेनन् । त्यस्तै, काठमाडांै गल्फुटारका एक पुरुष पनि सम्पर्कविहीन छन् । असार २५ का चार जना, असार २७ का यति जना भन्दै जादा ठूलै संख्या बन्दछ । फर्ममा फोन नम्बर नलेखिएको, लेखिएको गलत, नाम, उमेर, ठेगाना नभएका वा गलत भएका थुप्रै छन् । जसमा पैसा तिरेर पीसीआर गर्ने बढी छन् । संक्रमित सचेत भए पनि अस्पताल वा आइसोलेसन केन्द्रको बसाइ तथा छरछिमेकको व्यवहार छल्न यसो भइरहेको देखिन्छ ।

राजधानी उच्च जोखिममा : कोरोना संक्रमण दर मोफसलमा भन्दा न्यून रहेको उपत्यकामा पहिलोपटक ललितपुर भंैसेपाटीका दुई वर्षीय बालक जसको यात्रा इतिहास नभएको तथा घरमै बसिरहेको बालकमा शल्यक्रिया गर्न मेडिसिटीले पाटन अस्पतालमा पीसीआर गर्दा पोजेटिभ देखिएपछि स्थानीय संक्रमण देखापरेको छ । बाख्लो जनसंख्या भएको राजधानीमा असार २० सम्म भ्रमण इतिहास नभएका ३० जना बढीमा कोरोना पुष्टि भइसकेको छ । कतै नगएका व्यक्तिमा र ढलमा पनि कोरोना देखिन थालेपछि सरकारले स्थानीय संक्रमण भए-नभएको यकिन गर्न नमुना संकलन गर्दै छ ।

लक्षणरहित संक्रमित मलाई केही भएको छैन भनेर घरबाट निस्कने गरे अवस्था भयावह हुन सक्छ

राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएको पाँच महिनापछि उपत्यकामा दैनिक संक्रमितको ग्राफ उकालो लागिरहेको छ र पछिल्लो दुई सातामा ३ सय नाघिसकेको छ । मृत्युमा तीन जना छन् । उपत्यकाबाहिर संक्रमण, क्वारेन्टाइन र आइसोलेसनमा बस्ने घट्दै गइरहेको छ भने उपत्यकामा बढ्दै छन् । विदेशबाट स्वदेश आउने चार्टड उडानमा आउने ३५ प्रतिशतले मात्र पीसिआर र अन्य ३३ प्रतिशत आरडीटी गरेको देखिन्छ भने बा“की परीक्षण नै नगरी, लक्षणसहित आइरहेका छन् । निगरानी तथा स्वनिगरानीमा बसे-नबसेको कसैले ख्याल गरेको छैन । सचेत समाज भनिएकै तहतप्काबाट मास्क नलगाउने, भिडभाड गर्ने, सामाजिक दूरी कायम नगर्नेजस्ता गतिविधिहरू भइरहेका छन् । राजनीतिले सरगर्मी लिई बैठक, भेला, प्रधानमन्त्री बचाउन जुलुस निस्किएका छन् । तिनैले पूरै उडान र उपत्यकामा संक्रमण फैलाइरहेका छन् ।

काठमाडौंकै एक टोलमा कोरोनामुक्तलाई छुवाछूतको व्यवहार गरिदिँदा मानसिक तनाव, सिर्जना भई घर नै छाड्न पुगेका छन् । त्यसो त संक्रमणमुक्त भएको भनी डिस्चार्ज गरिएकामा पीसीआर गर्दा पोजेटिभ देखिएर केहीमा ठूलो हलचल र त्रास मच्चिएको हो । यस्ता घटना चीन, कोरिया र जापानमा पनि घटेपछि विश्व स्वास्थ्य संगठनले अध्ययन गरी पोजेटिभ मृत, निष्क्रिय, अवशेष भाइरसले गर्दा भएको र अर्काेमा रोग सार्न नसक्ने निष्कर्ष निकालेका थिए । विज्ञहरू त्रसित नभए पनि समुदाय अझै त्रसित नै छ ।

होम आईसोलेसन : कोरोना संक्रमित भए पनि सरकारले एम्बुलेन्स पठाइदिन्छु, अस्पताल वा आइसोलेसन सेन्टरमा आउने भए भने पनि घरमै बस्छु, नियम कानुन मान्छु भन्दै घरमा बस्ने मनमैजु, चन्द्रागिरी, चाबहिल, टिकाथली, ग्वार्काे, आलापोट, धुम्बाराहीलगायतका सयौं स्थानमा छन् । त्यसो त असार २५ पहिले घरमै आइसोलेसनमा बस्ने चिकित्सक र स्वास्थ्यकर्मी मात्रै थिए । कोरोनाको जोखिमयुक्त पक्ष भनेकै बिरामीको स्वास्थ्य अचानक गम्भीर हुनु हो । के घरमै आइसोलेसनमा बसेर सावधानी अपनाउँदा अपनाउँदै सर्ने जोखिम तथा जटिलता र मृत्युको जोखिम टार्न सकिन्छ त ?

घरमै बस्दा अस्पताल र क्वारेन्टाइनमा जस्तो सुरक्षित त हँुदैन । त्यसैमा लक्षणरहित संक्रमित मलाई केही भएको छैन भनेर घरबाट निस्कने गरे अवस्था भयावह हुन सक्छ । नियमित स्वास्थ्यकर्मीको निगरानी र सम्पर्कमा राख्ने, श्वासप्रश्वास दर तथा रगतमा अक्सिजनको मात्रा हेर्ने र आवश्यक भए तुरुन्तै अस्पताल लग्ने व्यवस्था हुनपर्छ । किरियापुत्रीजस्तै कसैलाई नछोई टाढै बस्ने हो भने अस्पतालभन्दा आइसोलेसन मापदण्ड भौतिक दूरी, छुट्टै कोठा, शौचालय, भाँडाकुडा, दैनिक दुईपटक स्वास्थ्य जाँच, लक्षण देखिए आकस्मिक उपचारको व्यवस्था आदि पूरा गरेका घर ठीकै हुन सक्छ । तथापि, आईसीयू सेवा उपलब्ध अस्पतालनजिकै हुनपर्छ । घरबाट अस्पताल टाढा भए आइसोलेसन सेन्टर वा अस्पतालमै बस्नु बुद्धिमानी हुन्छ ।

हेलचेक्र्याइँ नगरौं
अमेरिकामा त रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पत्ता लागेका भन्दा १० गुणा बढी संक्रमित रहेको अनुमान गरेको छ भने हामीकहाँ दैनिक ५ हजारको परीक्षण गर्दा धेरै संक्रमित अहिले पनि पहिचान भइनसकेको अवस्थामा रहेका हुन सक्छन् । नेपालमा हाल १६ लाख बढी ६५ वर्षमाथिको जनसंख्या छ । हरेक ४ जनामा १ जनालाई उच्च रक्तचाप र हरेक १० जनामा १ जनालाई मधुमेह छ । ज्येष्ठ नागरिकलाई नर्सिङ होममा राख्ने चलन नेपालमा छैन । दाहसंस्कारका लागि चिकित्सकको प्रमाणपत्र अनिवार्य छैन । तसर्थ, विकसित देशको तुलनामा हाम्रोमा उच्च जोखिम समूूहमा बिस्तारै फैलिँदै गएको हुन सक्ने र क्षति निकै कम भएको हुन सक्छ । भारतजस्तै संयक्त परिवार छ र अब लकडाउन भन्दा व्यक्तिगत लकडाउन अर्थात् सुरक्षा नै जरुरी छ ।

अन्तमा, लकडाउन खोल्नुको अर्थ देशको अर्थतन्त्र र नागरिकको दैनिकी सहज बनाउनु मात्र होइन, मुलुकलाई विश्वव्यापी महाव्याधिको चक्रबाट मुक्त बनाउन अझ जटिल परीक्षा दिनु पनि हो । लकडाउन सुरु हुँदा एक जना निको भइसकेकासहित दुई जना संक्रमित थिए र हाल १८ हजार बढी छन् । जसमा सक्रिय ६ हजार र मृत्यु ४२, जसले जोखिमको मात्रा बढी भएको पुष्टि गर्छ । आवागमन र जमघट बाक्लिँदै छ, संक्रमण सर्ने-नसर्ने, फैलिने-नफैलिने व्यक्ति विशेषको चालचलन वा होसियारीमा भर पर्दछ । तथ्यांकलाई आधार मानेर कोही कसैले हेलचेक्र्याइँ गर्नुहुँदैन र कोरोना भाइरसविरुद्धको लडाइँ पहिलेभन्दा कम नगरी अझ सशक्त पार्दै लैजानुपर्छ । आजको राजधानी दैनिक मा डा. प्रकाश बुढाथोकीले लेख लेखेका छन्।