एक बर्षसम्म ५०% भाडा कम गर्न ठमेलका घरवेटि तयार

Top Post पर्यटन

८ असार, काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घर भाडा छुट दिन घरधनी तयार भएका छन् । कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट दिन तयार भएका हुन् ।

आइतबार ठमेल पर्यटन विकास परिषद्मा परिषद्का उपाध्यक्ष तथा उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले १ वर्षका लागि ५० प्रतिशतसम्म छुट हुने गरी अनुरोध पठाएको बताएका छन् । सबै घरधनीसँग संघसंस्थाले सम्झाैता गर्न व्यवहारिक नभएकाेले ११ वटा संस्थाकाे सामूहिक निर्णयका आधारमा सबै व्यवसायीले घरधनीसँग समझदारी गर्ने भएका छन् ।

आइतबार बसेको समितिको बैठकले घर भाडा छुट मागको लागि विभिन्न ११ संस्थाहरुले माग पत्रमा हस्ताक्षर गरेका छन् । ‘११ संस्थाका प्रतिनिधिहरूमा घरधनीहरू पनि हुनुहुन्छ । ११ वटा संस्थाले गरेकाे निर्णयमा सबै घरधनी र व्यवसायीकाे समझदारी छ । यसकाे कार्यान्वयन पनि हुन्छ’ शर्माले भने ।

व्यवसाय बन्द अवस्थामा रहेकाे भएपनि ५० प्रतिशत घरभाडा व्यवसायीले बुझाउने सहमति भएकाे छ । होटल, रेस्टुरेन्ट,  डिस्को लगायत व्यवसाय बन्द भए पनि उनीहरूले ५० प्रतिशत घरभाडा तिर्नुपर्नेछ ।

समझदारी अनुसार गत चैतदेखि २०७७ फागुनसम्मकाे भाडा ५० प्रतिशत लिनेदिने हुनेछ । त्यसपछिकाे एक वर्षसम्म सम्झाैताभन्दा बढी भाडा नबढाउन अनुराेध गरिएकाे उनले बताए ।

उनका अनुसार लकडाउन भएदेखि १ वर्षको समयावधिमा घरधनीहरुले १ वर्षसम्मको ५० प्रतिशत छुट दिने, एक वर्षसम्मको लागि विद्युत महसुलको ५० प्रतिशत छुर विद्युतको युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पनि भएको बताए ।

पर्यटन विकास परिषद्ले ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूका लागि न्यूनतम ब्याजदरमा सहुलियत, विद्युत, खानेपानी र इन्टरनेटलगायतका शुल्क मिनाहा गरिदिन सरकारसँग माग गरेको छ । अहलिे कारोनाका कारण सबैभन्दा बढी पर्यटक आउने ठमेल क्षेत्र सुनसान छ भने धेरै व्यवसायीहरु पनि त्यहाँबाट पलायन भइसकेको अवस्था छ । पर्यटनसँग सम्बन्धित कतिपय साना र मझौला खालका व्यापार व्यवसाय पलायन नै हुनुपर्ने अवस्था सिर्जना भएकाले त्यस्ता व्यवसायलाई जीवन्त राख्न आर्थिक सहयोग उपलब्ध गराउन परिषद्ले आग्रह गरेको जनाएको छ ।

व्यवसाय शून्यगर्न धेरै समस्या भएको भन्दै घर भाडा तिर्न गाह्रो भएको गुनासो व्यवसायीको थियो । अब केही मात्रामा भएपनि उनीहरुलाई राहत हुने विश्वास लिइएको छ । यतिबेला निकै व्यस्त हुने ठमेल आजभोलि सुनसान जस्तै छ ।

ठमेल क्षेत्रमा सञ्चालित करिब पाँच हजार पर्यटन व्यवसाय र घरधनीका सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्ने कार्य जारी रहेको परिषद्ले जनाएको छ । तथ्याङ्क सङ्कलनले आफ्नै घर तथा भाडामा व्यवसाय सञ्चालन गर्नेहरूको विवरण सार्वजनिक गर्न सजिलो हुनेछ ।

लाखौँको व्यापार गर्ने ठमेल ठप्प हुँदा ब्यबसायीहरु चर्को वहाल तिर्न नसक्ने अवस्थामा पुगेपछि उत्पन्न समस्या र व्यावसाय सञ्चालनमा आएको समस्या समाधानका लागि ठमेल पर्यटन विकास परिषद्ले पहल थालेको शर्माको भनाई छ । समितिले हालको अवस्थामा घर भाडा समायोजन, बैंकको ब्याज मिनाहा, किस्ता तिर्ने समय बृद्धि, विद्युत महसुल मिनाहा, इन्टरनेट सेवा शुल्क छुट गर्न व्यवसायी र घर धनीहरुसँग छलफल गरी साझा धारणा बनाउने बताएको छ।