एमसिसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक

Top Post समाचार

३२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा छलफल हुने भएको छ । आजको बैठकमा पनि आमन्त्रितरुपमा भीम रावल, प्रदीप ज्ञवाली र डा. युवराज खतिवडालाई बोलाइएको छ ।

संसदको बजेट अधिवेशनबाटै पारित गर्नूपर्नेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले जोड दिएका छन् । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत पक्षधरले भने अहिलेकै अवस्थामा एमसिसी लागू गर्न नसकिने अडान राखेका छन् ।

पार्टीले गठन गरेको वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको एमसिसी अध्ययन कार्यदलले पनि एमसिसी अहिलेकै अवस्थामा पारित गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएको थियो ।

आजको पक्षमा एमसिसीका कतिपय प्रावधान परिमार्जनको सम्भावनाका विषयमा छलफल गर्न कार्यदल सदस्यरहेका रावल र ज्ञवाली तथा अर्थमन्त्री खतिवडालाई बोलाइएको एक सचिवालय सदस्यले जानकारी दिए । सचिवालय बैठकले यसअघि पनि सरोकारवाला पक्षसँग छलफल गरेको थियो ।

ओली निकट नेताहरु एमसिसीको पक्षमा छन् भने प्रचण्डसहितका बहुमत नेताहरु एमसिसी अहिलेकै अवस्थामा पारित गर्न नहुने पक्षमा रहेका छन् ।