लकडाउन अवज्ञा गर्ने पोखरा व्यवसायीको चेतावनी

Top Post समाचार

२१ जेठ, पोखरा । निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघहरुले लकडाउनलाई खुकुलो बनाउँदै सबै प्रकारका व्यापार/व्यवसाय खुलाउन माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ तथा लेखनाथ उद्योग वाणिज्य संघले मंगलबार गण्डकीको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कार्यालयमा ज्ञापनपत्र बुझाउँदै लकडाउनले व्यवसायीको ढाड भाँचिएको जिकिर गर्दै ‘लकडाउनको अवज्ञा’ गर्न बाध्य नपार्न आग्रह पनि गरे।

ज्ञापनपत्रमा लकडाउनले निम्त्याएको संकटबाट बँच्दै कसरी आर्थिक गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा हालै पोखरा उद्योग वाणिज्य संघले विभिन्न पेसा व्यवसाय गर्ने तथा संघमा आवद्ध वस्तुगत संघहरुसँग आयोजना गरेको भर्चुअल मिटिङले ‘सुरक्षाको पूर्ण व्यवस्था गर्दै, समय तालिका मिलाएर व्यापार÷व्यवसाय सञ्चालन गर्नुपर्ने’ सुझाव दिएको स्मरण गर्दै सोही अनुसारको व्यवस्था मिलाउन माग गरिएको छ।

‘हाम्रो ध्येय व्यापारमात्रै हैन, व्यापार गर्दै राज्यलाई कर र शुल्क तिर्नु पनि हो अनि अर्थतन्त्रलाई चलायमान बनाउनु पनि हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘कोरोनाबाट व्यापारी मात्रै बँच्ने कुरा पनि आउँदैन। हामी हाम्रो र उपभोक्ताहरुको सुरक्षा अनि स्वास्थ्यप्रति सचेत छौं। र, सचेतताकै बीचमा व्यापार/व्यवसाय गर्न चाहन्छौं।’

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा व्यवसायको प्रकृति हेरी समय तालिका अनुसार व्यवसाय खुले त्यसले अर्थतन्त्रलाई गति दिने पनि उल्लेख गरिएको छ। ज्ञापनपत्रमा बैंकमा जाने र फर्कंदा, किनमेलमा जाँदा एवं अत्यावश्यक मालबाहक सवारी साधनलाई प्रशासनले अनावश्यक रुपले धरपकड गरेको जिकिुर गर्दै त्यस्तो  कामप्रति आपत्ति पनि जनाइएको छ।