गाउँ र सपना

साहित्य

पूर्ण इन्फादा

तीब्र गतिमा खोलाको पानी ओरालो दौडिरहेछ

गाउँले मन पहिरोझैँ भत्किरहेछ

जताततै घुर्मैलो तुँवालो जस्तो

विचारशून्य सपना मडारिइरहेछ मस्तिष्कमा

गाउँलाई नर्क बुझिरहेछ, युवा चिन्तन

जहाँ दुःखको आहालबाहेक केही देख्दैन

गाउँ मात्र कष्टहरूको उन्मन्त बोझ हो ।

ओरालो झरिरहेछन् बर्सेनि मान्छेहरू

मधेसको समथर फाँट ताकेर

सहरको उत्ताउलो सुखान्त सपना बोकेर

अनुभूत भइरहेछ यतिखेर

गाउँ दुःखको अभिशप्त चट्टान हो ।

भालेहरू बास्दैनन्

पोथीहरू कोरकोराउँदैनन्

गाउँ अदृश्य र अमूर्त श्रापित वृद्धाश्रम हो ।

खेतबारीका गरागरामा मौलाइरहेको छ वनमारा

र निर्धक्क हाँसिरहेछन् चितुवा र बाँदरहरू घरको धुरीमा ।

गाउँदैनन् कसैले रिसिया र रसिया

बजाउँदैनन् कसैले खैँजडी र मुजुरा

नाच्दैनन् कोही चुड्का, बालुन र मारुनी

लाग्छ गाउँ मर्महरूको चूडान्तस्थल हो ।

पाटी, पौवा, पँधेरो, धर्मशाला भग्नावशेषजस्ता

आफ्नै मझेरी, आँगन सबै सबै विराना ।

यतिबेला सबैलाई लागिरहेछ

गाउँ दुःखैदुःखको सङ्कीर्ण सङ्ग्राहलय हो

टोलटोलमा गुन्जिरहन्छ अचेल

आँखाको डिलबाट ओर्लिएर साउने सङ्गीत ।

छैनन् मर्दाका मलामी र जिउँदाका जन्ती

रौँ रौँमा सल्बलाइरहेको छ कर्पोरेट हाउसको लालच

र संवेदनाहीन दुःखान्ते परदेशको निस्फिक्री मोह ।

खुशी र हर्षहरू गुमाएको मलीन दृश्यभरि

नाचिरहेछ साहूको चर्को ब्याजको ऋणबाट त्राण

र उम्लिरहेछ सपनाको झुम्रो ओढेको उत्कट चाहना

एक छाक पेटभरि मीठो खाने रहर

खोजिरहेछ उन्मुक्ति दुःखको सैसलाबाट ।