नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०७७/७८ को बजेट समाजवादी बाटो पक्रिने गरी आएकोमा त्यसमा आफुलाई खुशी लागेको बताएका छन् ।
बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषण सुनेर बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले बाहिर संवाददाताहरूसँग खुशी व्यक्त गरेका हुन्।
‘बजेटको स्रोत जुटाउन आन्तरिक र बाह्य ऋण सहयोग तथा राजश्वको जुन अनुमान गरिएको छ त्यो वस्तुवादी नै छ’, प्रचण्डले भने।
‘बजेट प्रगतिशील, जनपक्षीय र समाजवाद उन्मुख बाटो पक्रिने गरी आयो, म खुशी छु’, प्रचण्डले भने, ‘यो बजेटले मुख्यतः तल्लो वर्गका जनतालाई राहत दिने जुन प्रयास गरेको छ, त्यो सरहानीय छ।’
अर्थमन्त्री खतिवडाले आगामी आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका छन्। कोरोना महामारीको विषम परिस्थितिमा पनि बजेट निकै सन्तुलित र जनतालाई राहत दिने किसिमले आएको प्रचण्डले बताए।