कोरोना जितेर वीरगंजबाट थप २१ जना घर फर्किए

समाचार

पर्सा, १४ जेठ । कोरोना संक्रमण (कोभिड–१९) भएर पर्साको नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत दुई बालबालिका सहित २१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुष छन् । मंगलबार राति साढे १० बजे कोरोना निको भएर उनीहरु घर फर्किएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताए ।

डिस्चार्ज भएका सबै वीरगन्ज महानगरपालिकाका स्थानीय हुन् । २४ घण्टाको फरकमा गरिएको उनिहरुको दुईवटा पीसीआर रिर्पोटमा कोरोना नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको उनले बताए ।

गत वैशाख २७ र ३० गते कोभिड( १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा बेड अभाव भएकाले २१ जना संक्रमितलाई संक्रमण भएको पहिलो २ दिन घरमै सेल्फ आइसोलेसनमा राखेको थियो ।

त्यसपछि सिद्धार्थ माध्यमिक विद्यालयलाई सेमी आइसोलेसनमा परिणत गरी २१ जना संक्रमितलाई त्यहाँ राखिएको थियो । वीरगन्ज महानगरपालिकाले यहाँको गण्डक अस्पतालसँग सम्झौता गरी त्यसलाई अस्थायी कोभिड अस्पताल बनाएपछि गत वैशाख ७ गते सिद्धार्थ माविको सेमी आइसोलेसनबाट २१ जना संक्रमितलाई सारिएको थियो ।

सो अस्पतालमा रहेका ३० जनामध्ये २१ जना डिस्चार्ज भएपछि अब ९ जना रहेका छन् । नारायणी उपक्षेत्रीय अस्पतालमा भने कोरोनाका सबै विरामी निको भएर घर फर्किएका छन् ।