राप्रपा सरकारमा जाँदैन, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: प्रवक्ता शाही

राजनीति समाचार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले राप्रपा सरकारमा सहभागी नहुने बताएका छन् । शाहीले भने, “सरकारमा जाने कुरा सोच्न पनि सकिँदैन, हामी शक्ति र सत्ताको पछाडि लाग्दैनौँ।”

सता गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्याउनका लागि अन्य दलसँग छलफल चलाएको उल्लेख गर्दे शाहीले भने, “हामी उहाँहरुको कुनै लोभ लालचामा फस्दैनौ ँ।” राप्रपाले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले भने, “संसद्को धज्जी उडाउने, नीतिगत भ्रष्टाचार गर्ने र बेथितिविरुद्ध सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।”

उहाँका अनुसार राप्रपालाई सरकारमा जाने नभई विपक्षमा बसेर खबरदारी गर्ने जनमत प्राप्त भएको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लाबाट ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गोमा गौतम कुँवर लाई १० हजार आठ सय ६० मतान्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् ।

उहाँले २२ हजार आठ सय १९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गौतमलाई ११ हजार नौ सय ५९ मत प्राप्त भएको थियो ।