गोरखा-२ मा भट्टराईलाई छाडेर अरु बाँकी ठाउँमा स्थान बनाउन कांग्रेसलाई श्रेष्ठको आग्रह

राजनीति समाचार

गोरखा । नेपाल समाजवादीका युवा नेता रूपनारायण श्रेष्ठले  गोरखा -२ मा वावुराम भट्टराईलाई छाडेर अरु बाँकी ठाउँमा स्थान बनाउन कांग्रेसलाई आग्रह गरेका छन् ।

बुढानिलकण्ठमा आराम गरिरहनुभएको देउवालाई प्रधानमन्त्री बनाउने वातावरणको थालनी डा. बाबुराम भट्टराईले गर्नुभएको श्रेष्ठको दावी छ ।

फेसवुकमा स्टाटस लेख्दै नेता श्रेष्ठले भनेका छन्, नेकपाको दुई तिहाईको सरकार चलिरहेको अवस्थामा संसदमा एक्लो प्रतिपक्षी कोहि थियो भने डा. बाबुराम भट्टराई हुनुहुन्थ्यो । संसद विघटनको बिरोध गर्ने पहिलो नेता डा. बाबुराम भट्टराई हुनुहुन्थ्यो । केपि ओली सरकारले संसद विघटन गरि निर्वाचनमा मुलुकलाई लैजाँदा सुतिरहेको कांग्रेसलाई सरकारको नेतृत्वमा ल्याउन पहिलो प्रस्ताव गर्ने नेता डा. बाबुराम भट्टराई हुनुहुन्थ्यो ।

गोर्खाली कांग्रेसहरुलाई सुझाव दिंदै गोरखा जिल्ला माओवादी किल्ला थियो । कांग्रेसले कहिँ चियाउने स्थिति थिएन , बाबुरामको कारण नै कांग्रेसले गोरखामा खुलेर गतिविधि गर्न पाएका हुन् । अघिल्लो स्थानीय निर्वाचनमा ९ स्थानीय तह जितेको हो । तर अहिले बाबुरामको पार्टीलाई निषेध गरेर दम्भ देखाउँदा २ स्थानीय तहमा खुम्चिनु परेको अवस्थाले सपनाबाट विपनामा आउनुभएको छैन ? भन्ने प्रश्न गरेका छन् ।

त्यसैले गोरखाको हितको लागि, गोरखाको गौरवपुर्ण पहिचान स्थापित गर्न बाबुरामलाई प्रतिस्पर्धी देखेर होइन । यसपटक उहाँलाई सहयोग गरेर अर्को पटक जित्ने वातावरण बनाउन कांग्रेससंग श्रेष्ठले आग्रह गरेका छन् ।

विगतलाई खोतल्दै रूपनारायणले थप भनेका छन्, गोरखा-२ मा बाबुराम भट्टराईलाई छाडेर अरु बाँकी ठाउँमा स्थान बनाउन आग्रह गर्दछु । किनकी बाबुराम एउटा पार्टीको नेता मात्रै होइन, बहुसंख्यक गोरखालीको प्रिय नेता पनि हो । बिकास निर्माणको हिसाबले उहाँको योगदान पुस्तौंपुस्ता सम्झिन लायक छन् । जति जति बाबुरामलाई निषेध गर्न खोजिन्छ, त्यति त्यति पुर्व माओवादीका मतदाताहरु संगठित हुँदै एकत्रित हुन्छन् । यसपालिको स्थानीय निर्वाचनमा भएको यहि हो ।