काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । साथै उहाँले नवनिर्मित भवनहरूको
निरीक्षण समेत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिएको विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो ।
उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनहरूले गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले समसामयिक परिस्थिति अनुसार कार्यसम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने उल्लेख गर्दै उपत्यकामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ईन्जिनियर रोशन सारूले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कूल २२ करोड ९० लाख ७१ हजार १ सय ९२ रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।