गोल्ड मेडलिस्ट उपसचिव नेपाल साढे २२ लाख घुससहित पक्राउ

Top Post समाचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् ।

पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेको थियो । नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल ६ लाख रुपैंया सहित पक्राउ परे ।

नियन्त्रणमा लिएर खानतलासी गर्दा उहाँको साथबाट ६ लाख बरामद भएको हो । अरु साढे १६ लाख रुपैंया गाडीमा भेटियो ।’

पर्यटन मन्त्रालयमा नागरिक उड्डयन महाशाखा छ । उक्त महाशाखा अन्तर्गत हवाई उद्योग तथा अन्तराष्ट्रिय सम्बन्ध शाखा र हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखा छन् । उनी वाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रमुख हुन् । एउटा शाखाको जिम्मेवारी भएपनि उनले नागरिक उड्डयन हेर्ने महाशाखामा हावी रहेको मन्त्रालयका एक उपसचिवले बताए । उनकै निर्णयका आधारमा ‘उडान योग्यता अनुमतिपत्र’ जारी हुनुपर्ने थियो । त्यही सहमति लिने क्रममा उपसचिव नेपालले व्यवसायीसँग घुस रकम मागेका थिए ।

अख्तियारको टोलीले रंगेहात पक्राउ परेका कर्मचारीको साथबाट रकम बरामद भएपछि साथमा रहेका अरु सामानको पनि खानतलासी गर्छ । झोला, कागजपत्र र अरु सामान पनि हेर्छ । अख्तियारको टोलीले उनले साथमा लगेको सरकारी गाडीको पनि खानतलासी लिन थाल्यो, त्यसक्रममा थप साढे १६ लाख रुपैयाँ भेटिएको हो ।

उनको साथबाट साढे २२ लाख रुपैंया बरामद भए पनि ६ लाख रुपैयाँ घुस हो भने बाकी साढे १६ लाख रुपैंया स्रोत नखुलेको रकम हो । अख्तियारले उनलाई बुधबार विशेष अदालतमा पेश गरेर पक्राउको म्याद थप गर्नेछ र अरु थप अनुसन्धान थाल्नेछ ।

गोल्डमेडलिस्ट उपसचिव

पाल्पाका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका थिए । सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका थिए । एयर ट्राफिक कन्ट्रोलर-एटीसी) पनि भएका थिए ।

बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पनि पाए । छात्रवृत्तिमा अध्ययन सकेर आठ महिनाअघि मात्रै नेपाल फर्किएका उनी मन्त्रालयमा काम गर्न थालेका थिए । ‘उनी निकै मेधावी र क्षमतावान भनेर चिनिन्थे, अध्ययन र सबै पक्ष राम्रो भएकाले पैसा कमाउन घुस नै खानुपर्ने थिएन’ मन्त्रालयका एक सहसचिवले भने, ‘त्रिविबाट स्वर्णपदक समेत पाएपछि उनलाई राम्रो जागिर र अरु अवसरको कुनै कमी थिएन । घुस सहित पक्राउ भएपछि निकै आश्चर्य लागेको छ ।’