शहिद लखन गाउंपालिकाको वनौति पाखा सामुदायिक वनमा मयुर भेटियो

समाचार

गोरखा। गोरखाको जंगलमा मयुर भेटिएको छ । शहिद लखन गाऊँपालिका वडा नम्वर ३ को बनौती पाखा सामुदायिक वनमा वयस्क पोथी मयूर फेला परेको हो । जंगलबाट वस्तीतिर आएको मयूरलाई स्थानीय नारायणप्रसाद पोखरेलले संरक्षण गरि डिभिजन वन कार्यालयलाई बुझाउनु भएको हो ।

अलिअलि मात्रै उड्न सक्ने मयूरलाई केटाकेटीहरुले लखेटिरहेका अवस्थामा जोगाएर एक रात कुखुराको खोरमा थुनेर वन कार्यालयमा खबर गरिएको पोखरेलले बताउनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठ सहितको टोली पोखरेलको घरमा पुगेर मयूरको उद्धार गरेको छ । जिल्लामा पहिलो पटक मयुर खुला रुपमा देखिएको उहाँको भनाई छ । समुद्री सहतबाट ५ शय मिटरसम्मको उचाईमा मयूर पाइने श्रेष्ठले बताउनुभयो । फाट्टफुट्ट रुख भएको, घाँसे मैदान जस्तो ठाऊँमा पाइन्छ, पानीको उपलब्धता बढी भएको ठाऊँमा यसको प्रजाती बस्न रुचाउने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार तल्लो क्षेत्रमा बसोबास गर्ने वन्यजन्तुहरु बिस्तारै माथिल्लो क्षेत्रमा पनि देखिन थालेका छन् । प्रमुख कारण चाहिँ जलवायू परिवर्तनलाई मान्न सकिने उहाँको भनाई छ । भेटिएकै क्षेत्रमा छोड्दा हावापानी अनुकुल देखिए पनि बजारको नजिक भएकाले चोरी शिकारको सम्भावनालाई हेरेर सो मयूरलाई चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । कोषले चितवन राष्ट्रिय निकुञ्जमा लगेर छोडेको श्रेष्ठले बताउनुभयो ।

यस्तै डिभिजन वन कार्यालयले चरी बाघको बच्चा पनि उद्धार गरि राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मा लगाएको छ । करीव २ महिना अघि हिँड्नै नसक्ने अवस्थाको चरीबाघको बच्चा गोरखा नगरपालिका ७ को हिलेपोखरी क्षेत्रमा फेला परेको थियो । दुई महिनासम्म कार्यालयमै हुर्काएर चितवन लगिएको डिभिजन वन प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।