धागो तानेजस्तो हो रेल ल्याउने कुरा, कुश्मामा एकदिन त पक्कै आउँछ : अध्यक्ष ओली

Top Post राजनीति समाचार

२७ चैत, पर्वत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पहलमा जनकपुरमा रेल आएको र केरुङ-काठमाडौं रेलका लागि पनि सर्भे गरिसकेको बताएका छन् ।

२०७४ कात्तिक ३० गते संसदीय निर्वाचनका बेला कुश्मामा सम्बोधन गर्दा ओलीले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा, पोखरा–बेनी रेल ल्याउने र कुश्मामा रेल स्टेसन बनाउने घोषणा गरेका थिए ।

आफू सरकारमा हुँदा बोलेका कुरा अहिले पनि स्मरण गरिरहेको भन्दै उनले आफ्नो पालामा रेल ल्याउने काम धमाधम भइरहेको दाबी गरे । उनले भने, ‘मैले पाँच वर्षअघि यहीं उभिएर भनेको कुरा हिजो एकजना पत्रकारले सोध्नुभयो ।

खोइ रेल भनेर ? केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र मध्य नेपालमा रेल ल्याउनका लागि सर्भे गरेका छौं । रेल ल्याउने कुरा एकदुई दिनमा हुने हो र ? धागो तानेजस्तो हो रेल ल्याउने कुरा ? देख्नु भएन जनकपुरमा रेल ?’ उनले भनेका थिए ।

एक फरक प्रसंगमा उनले आफ्नो पार्टीले देशको विकास गरेको देखेर अत्तालिएकाहरुलाई अबको निर्वाचनमा फेरि एकल दुईतिहाइ बहुमत ल्याएर देखाइदिने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले त्यसका लागि पहिले आगामी स्थानीय तहको चुनाव जितेर देखाउने दाबी गरे । विकासको पहिलो लहर ल्याउने स्थानीय सरकार नै भएकाले पहिला स्थानीय सरकारमा एमालेलाई जिताउन पनि उनले मतदातालाई आग्रह गरेका थिए । ‘जनताको लहर यसरी आएको छ । पाँच दलीय गठबन्धनका टुक्राहरु । चोइटाहरु यताउता ओल्तिर पल्तिर उथलपुथल हुनेछन्,’ ओलीले भने ।

यसअघि अरिंगालको कुरा गर्दा आलोचना भएको प्रसंग निकाल्दै नेता ओलीले चुनावका बेला अरिंगाल के हो भन्ने थाहा हुने भन्दै एमालेमाथि जाइलाग्न नहुने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘मैले केही समयअघि नेकपा एमालेलाई टोक्न नखोज । अरिंगाले त गोलो चलायो भने टोक्छ भने एमालेलाई चलायो भने त्यसको दुर्गति हुन्छ भनेको थिएँ । निकै अरिंगालको कुरा गरे । अब थाहा हुन्छ अरिंगाल भनेको के हो । चुनावका बेला थाहा हुन्छ ।’

नेकपा एमाले पर्वतले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको चुनाव लक्षित सभालाई सम्बोधन गर्दै ओलीले आफूले सरकारको नेतृत्व गर्दा भएको विकास देखेर अत्तालिएकाहरुले कतैबाट नसकेपछि अदालत गएर परमादेशको भरमा सरकार ढालेका कारण विकास ठप्प भएको पनि जिकिर गरे ।