२६ फागुन, गोरखा । गोरखाको शहिद लखन गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनको आधारमा जिल्लाको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा शहिद लखन जिल्लाको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो ।
मुल्याङ्कनमा गोरखा जिल्लाका ९ गाउँपालिका र २ नगरपालिका गरी ११ रहेका स्थानीय तहमा शहिद लखन गाउँपालिका दोस्रो उत्कृष्ठ गाउँपालिका बन्न सफल भएको हो । शहिद लखनले ६३.४६ अंक प्राप्त गरेर दोस्रो भएको गाउँपालिका आयोगले जनाएको छ ।
संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरिएको हो । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक रहेका थिए ।
समयमै बजेट पेश गरे/नगरेको, असार मासन्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकनका आधारमा नम्बर दिइने गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।
आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो । गोरखा जिल्लामा ६० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्नेमा शहिद लखन गाऊँपालिका र पालुङटार नगरपालिका मात्रै रहेका छन् ।
जिल्लाको पालुङटार नगरपालिका ६८.१५ प्रतिशत अङ्क, आरुघाट गाऊँपालिका ५९.५१ प्रतिशत अंक, गोरखा नगरपालिका ५८.६२ सिरानचोक गाऊँपालिका ५८.५६, अजिरकोट ५६.१५ तथा गण्डकी गाऊँपालिका ५५.९१ प्रतिशत अंक प्राप्त गरेका छन् । त्यस्तै वारपाक सुलिकोट गाऊँपालिका ५५.८२, चुमनुब्री गाऊँपालिका ४६.४३, भिमसेन थापा गाऊँँपालिका ४६.४० र धार्चे गाऊँपालिका ४४.९७ प्रतिशत अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । यस अघि शहिदलखन गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो र नेपालभरीमा चौँथो स्थानमा रहेको थियो ।
शहिद लखन गाउंपालिका नेकपा माओवादी केन्द्रले जितेको गाउँपालिका हो।