१८ माघ, काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन १३ अंकले घट्दै २८ सय ७२ अंकमा झरेको नेप्से मंगलरबार निर्वाचन आयोगगले स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरेसँगै पुनः नेप्सेमा एकाएक वृद्धि आएको हो ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने प्रस्ताव गरेको छ । यस्तै, गत आइतबार पनि स्थानिय तहको निर्वाचन बैंशाख–जेठ भित्रै गर्ने राजनीतिक दलहरुमा सहमति भएसँगै नेप्से एकाएक १०५ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.२६ अंकले बढेर २८ सय ९१.३० विन्दुमा उक्लिएको छ ।
त्यसो त १९ अंकमाथिले बढेको बजारमा आज साढे ६ अर्ब माथिको कारोबार भएको छ । नेप्सेका अनुसार आज कुल २२३ कम्पनीको एक करोड २१ लाख कित्ता भन्दा माथिको सेयर बजारमा ८० हजार भन्दा बढी पटक किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन १३ अंकले घटेको बजारमा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको थियो ।