बागमती प्रदेशका मन्त्री खनाल एकीकृत समाजवादीमा प्रवेश

राजनीति समाचार

१५ भाद्र, काठमाडौं। बागमती सरकारमा रहेका एक मन्त्रीले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको साथ छाडेका छन्। चितवनबाट निर्वाचित सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले मंगलबार हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

निर्वाचन आयोगमा गरिएको सनाखतमा १२ जना सांसद एकीकृत समाजवादीमा खुल्दा खनालले पनि सनाखत गरेको सांसद वसन्त मानन्धरले जानकारी दिए। उनी एकीकृत समाजवादीको ९५ सदस्यीय केन्द्रीय सदस्य पनि हुन्।

खनालसँगै सांसदहरू राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, मुनु सिग्देल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, लक्ष्मण लम्साल, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, रमा आलेमगर, र कुसुमकुमार कार्कीले एमाले छाडेका छन्।

अन्य दुई जना पनि भोलि या पर्सि आएर नेकपा (एस)को पक्षमा सनाखत गर्ने बताइएको छ। १२ सांसदले एमाले छाडेसँगै शाक्यको सरकार अल्पमतमा परेर गिर्ने निश्चित भएको छ।