तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट गोरखाका पत्रकार श्रेष्ठ पुरस्कृत

समाचार

१९ पुस, काठमाडौं । गोरखाका पत्रकार भीमलाल श्रेष्ठ तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

पत्रकार महासंघ गोरखा शाखाले शनिबार पालुङटार नगरपालिका २ को लिगलिगकोटमा आयोजना गरेको दशौँ साधारण सभाको अवसरमा पत्रकार श्रेष्ठलाई साे पुरस्कारबाट पुरस्कृत गरिएकाे हाे ।

पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।

उनलाई पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले नगद १० हजार रुपैयाँसहित दोसल्ला र कदर पत्रले सम्मान गरेका हुन् ।

गोरखा सदरमुकामका तुलसी अर्यालको स्मृतिमा पत्रकार महासंघ गोरखा शाखामा २०७० सालमा स्थापना भएको तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट श्रेष्ठसहित हालसम्म ६ जना पत्रकार पुरस्कृत भइसकेकाे अध्यक्ष किशोरजंग थापाले जानकारी दिए ।