३१ साउन, खोटाङ । विराटनगरबाट सरूवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका ६ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरूवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
सरूवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।
‘सरूवा भएर खोटाङ आएलगत्तै उनीहरू सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ’, उनले भने, ‘साउन २९ गते पिसिआर परीक्षण गर्न उनीहरूसँगै १३ जनाको स्वाब संकलन गरेर पठाइएकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।’
संक्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय दुई/दुई तथा २० र २१ वर्षीय एक/एक जना पुरूष छन्।