संविधान संशोधन विधेयक पारित हुने निश्चित

Top Post राजनीति

१९ जेठ, काठमाडौँ। संसद्मा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस भएको छ । सरकारले संसद्मा पेस गरेको संविधान संशोधन नेकपा र नेपाली कांग्रेसले समर्थन गर्ने निश्चित भएपछि दुई तिहाइबाट पारित हुने सुनिश्चित भएको हो ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्न मागेको अनुमतिमा विरोधको सूचना नआएकाले सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पेस गर्न अनुमति दिएका थिए । सरकारले नेपालको अद्यावधिक नक्सा प्रकाशन गरेपछि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नेपालको नक्सा पनि परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो । नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा संशोधनका लागि सरकारले संसद् सचिवालयमा केही दिनअघि संशोधन विधेयक दर्ता गराएको थियो । अद्यावधिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र पनि समावेश छन् ।

मन्त्रिपरिषद् बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अद्यावधिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक गत ९ जेठमा संसद् सचिवालयमा दर्ता भएको थियो ।

१४ जेठको संसद् बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्ने उल्लेख थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले ‘केन्द्रीय समितिबाट निर्णय गर्छौं’ भनी समय मागगरेपछि १४ जेठको कार्यसूचीबाट संविधान संशोधन हटाइएको थियो ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरूलाई आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसद्मा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले यस विषयमा औपचारिक बोलेका छैनन् । अनौपचारिक रूपमा भने दुवै दलले नक्सासम्बन्धी विषयमा संविधान संशोधन गर्ने विषयमा आफूहरूको विरोध नहुने बताएका छन् ।

अब संसद्मा यो विषयमा छलफल हुनेछ । संशोधन राख्नेदेखि परिपक्व हुनेसम्मको समय पार गर्दै प्रतिनिधिसभाबाट पारित हुनेछ । प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पेस हुनेछ । दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि निशान छापमा औपचारिक रूपमा चुच्चे नक्सा आउनेछ । नेपालको संविधान ३ असोज २०७२ मा जारी भएको थियो । यसमा पहिलो संशोधन सोही वर्ष १० असोजमा गरिएको थियो ।

यसैबीच नेपाली कांग्रेसले आफू नेतृत्वको सरकारको पालामा प्रक्रियामा गएको संविधान संशोधनको प्रस्तावलाई पुनः ब्युताउने भएको छ । सरकारले नेपालको पूर्ण नक्सा सार्वजनिक गर्दै सोहीअनुसारको निशान छाप बनाउन संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरेको छ । कांग्रेसले पनि आफूलाई सो प्रस्तावको पक्षमा उभ्याएको छ । शनिबार मध्यरातसम्म बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । त्यसको अतिरिक्त, सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला प्रस्तुत प्रस्तावलाई पनि यसै समयमा दोहो¥याउने निर्णय पनि कांग्रेस बैठकले गरेको छ । अघिल्लो संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको हो ।

आजको राजधानी दैनिकमा सबिन शर्मा ले समाचार लेखेका छन् ।