सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा गोरखामै मुख्य सकस, कुन दलवाट कस्को दावी?

Headlines राजनीति समाचार

गोरखा । पछिल्ला चुनावमा गोरखा पनि चर्चामा रहने गरेको छ। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको उम्मेदवारीले गोरखा क्षेत्र नम्बर २ चर्चामै रहन्छ।

२०७४ सालमा वाम गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार हुन नपाएपछि तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई नेपाली कांग्रेससँग गठबन्धन गरी उम्मेदवार बनेका थिए।

भट्टराईले त्यसबेला वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई सात हजार भन्दा बढी मतान्तरले हराएका थिए।

२०७४ मा गोरखा क्षेत्र नम्बर १ मा नयाँ शक्तिले नेपाली कांग्रेसलाई सघाएको थियो। चीनकाजी श्रेष्ठ उम्मेदवार थिए तर उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिराज अधिकारीसँग पराजित भएका थिए।

यसपालि कांग्रेससहित सत्ता गठबन्धनका पाँच दलले चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन्। गोरखामा कुन क्षेत्र कसले लिने भन्ने टुंगो लगाउन सकस पर्ने देखिन्छ।

माओवादीले वैशाखमा भएको स्थानीय चुनावमा ११ मध्ये ९ स्थानीय तह प्रमुख जितेको छ भने कांग्रेस २ स्थानीय तह प्रमुखमा खुम्चिएको छ। तर लोकप्रिय मतमा क्षेत्र नम्बर १ मा कांग्रेस नै अघि देखिन्छ।

बाबुराम भट्टराईले हालै नयाँ पार्टी गठन गरेका छन्। नेपाल समाजवादी पार्टीबाट उनी गोरखा २ मा चुनाव लड्ने तयारीमा छन्। सत्ता गठबन्धनमै रहेर गोरखा २ मा चुनाव उठ्ने तयारी उनको छ।

बाबुराम पनि सत्ता गठबन्धनमै आए गोरखा २ मा उम्मेदवार तय गर्न दलहरूलाई झन् सकस पर्नेछ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसदबाट राजीनामा दिएर गोरखा-२ मा उम्मेदवार हुने पक्षमा छन्।

क्षेत्र नम्बर २ मा पर्ने पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामध्ये सिरानचोकबाहेक सबैमा माओवादीले स्थानीय चुनाव जितेको छ।

क्षेत्र नम्बर २ मा पर्ने पालिकाभित्रका वडाहरूमा स्थानीय चुनावमा आएको मत हेर्दा माओवादी अगाडि देखिन्छ।

यो क्षेत्रमा माओवादीका वडाध्यक्ष उम्मेदवारहरूले २२ हजार दुई सय ५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवारले २१ हजार एक सय ३६ मत पाएका छन्। यहाँ एमालेलाई ७ हजार ९ सय २६ र जसपाले ७ हजार ५ सय ४ मत मिलेको छ। यहाँ जति मत जसपालाई आएको छ, त्यो बाबुरामनिकटको मत हो।

क्षेत्र नम्बर २ यसपालि नेपाली कांग्रेसले पनि दाबी गर्दैछ। सधैँ क्षेत्र नम्बर २ अरू पार्टीलाई छाडेको भन्दै कार्यकर्तामा असन्तुष्टि देखिएको कांग्रेस नेताहरू बताउँछन्। केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे क्षेत्र नम्बर २ मा प्रमुख दाबेदार छन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्। पाण्डे यसअघि राष्ट्रिय सभामा कांग्रेसका दल नेता थिए।

क्षेत्र नम्बर २ मै केन्द्रीय सदस्य अब्दुल सतार र गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी पनि उठ्न इच्छुक छन्। तर उनीहरू प्रदेश सभा क्षेत्रमै उम्मेदवार हुन पनि सक्ने कांग्रेसका नेताहरू नै दाबी गर्छन्।

यस्तै क्षेत्र नम्बर २ मा माओवादीका नेताहरू हितराज पाण्डे, चुडामणि खड्का, अमर तमुलगायत उम्मेदवार हुने तयारीमा छन्।

गोरखा क्षेत्र नम्बर १ मा पनि सिट बाँडफाँट गर्न सजिलो छैन। गोरखा १ मा गत स्थानीय चुनावमा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवारले पाएको मत माओवादीको भन्दा करिब दुई हजार बढी छ।

यहाँ कांग्रेसले २७ हजार ८४ मत ल्याएको छ भने माओवादीले २५ हजार चार सय ७२ मत ल्याएको छ।

क्षेत्र नम्बर १ का माओवादी नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यही क्षेत्रमा उठ्न आग्रह गरेका छन्। केही दिनअघि सांसद हरिराज अधिकारी र गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले प्रचण्डलाई गोरख-१ मा उम्मेदवार हुन आग्रह गरेका थिए। प्रचण्डले उनीहरूका कुरा सुने तर कुनै जवाफ दिएनन्।

प्रचण्ड यहाँ उठेनन् भने माओवादीबाट अधिकारी नै दोहोरिने सम्भावना छ। यस्तै कृष्ण धिताल, सुशीला सिंखडा, परशुराम रम्तेललगायत पनि उम्मेदवार हुन इच्छुक देखिन्छन्।

कांग्रेसबाट क्षेत्र नम्बर १ मा अर्थशास्त्री स्वर्णिम वाग्ले चुनाव लड्न इच्छुक छन्। उनी अहिले युएनडिपीमा कार्यरत छन्। चुनाव घोषणा भइसक्दा पनि नेपाल नआएका वाग्लेलाई कांग्रेसले टिकट दिने सम्भावना भने न्यून छ। यो क्षेत्रमा कांग्रेसबाट फेरि  एक पटक चीनकाजी श्रेष्ठ उम्मेदवार हुने तयारीमा छन्। उनी समानुपातिक तर्फ बस्न पनि पार्टीभित्र केही नेताको माग छ।

कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपाने पनि क्षेत्र नम्बर १ मा उठ्न इच्छुक छन्। उनी कांग्रेसको १४ औं महाधिवेशनका बेला जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका थिए। क्षेत्र नम्बर १ मा न्यौपानेको बलियो प्रभाव छ।

२०७४ को चुनावमा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) मा उठेर वामगठबन्धनबाट एमालेका उम्मेदवार रामशरण बस्नेतसँग पराजित भएका कांग्रेसका राजेन्द्र बजगाईं यसपालि प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवार हुने तयारीमा छन्।

बजगाईंले सरकारले चुनावको मिति घोषणा गरेको भोलिपल्टै आफू मंसिरको चुनावमा उम्मेदवार हुने घोषणा गरेका छन्। पर्यटन, होटल व्यवसायीसमेत रहेका बजगाईंले उत्तरी गोरखाका मानिसलाई दु:ख पर्दा हेलिकप्टरबाट उद्धार लगायतका काममा समन्वय पनि गर्दै आएका छन्।

बाबुराम सत्ता गठबन्धनमा आएनन् भने माओवादी र कांग्रेसले गोरखामा एकेक क्षेत्र बाँड्नेजस्तो देखिन्छ। स्थानीय चुनावमा आएको मतले गोरखा १ कांग्रेस र गोरखा २ माओवादीले लिनेजस्तो देखिन्छ। सेतोपाटि वाट साभार।