६ माघ, काठमाडौं । कोरोनाले भयावह रुप लिनसक्ने भन्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि लागू हुने गरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन् ।
बिहीबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको हो । ललितपुरका सिडिओ घनश्याम उपाध्यायले जोरबिजोरलाई कडाईका साथ लागू गरिने बताए । मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको उनको भनाइ छ । सार्वजनिक सवारी साधनकै कारण पछिल्लो दिन कोरोना संक्रमण ह्वात्तै बढेको निष्कर्ष उनिहरुको छ । डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको प्रजिअ उपाध्यायले बताए ।