सर्वोच्च परिसरमा आज पनि तनाव

Top Post समाचार

२ मंसिर, काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिलहरूले प्रदर्शन गरेका थिए। प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरि धर्नामा बसेका वकिलहरू मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको हो।

त्यसक्रममा प्रहरीले व्यवसायीहरूमाथि बल प्रयोग गरेको हो। प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, वरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि प्रहरीले हातपात गरेको छ। नेपाल बारको अगुवामा आन्दोलनरत कानुन व्यवसायीले आज सर्वोच्च अदालतका मूल र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका छन्। सर्वोच्च अदालत परिसरमा बिहीबार अरू दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ।

बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो। जसअनुसार बारले सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। केही दिनयता वकिलहरूको मूल गेटभित्रको धर्ना छल्दै प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गर्दै आएका थिए।