दलित अभियन्ताहरु भन्छन्– मन्त्री श्रेष्ठले माफी मागेर मात्र हुँदैन, राजीनामा दिनुपर्छ

समाचार

१७ असार, काठमाडौँ। चौतर्फी विरोधपछि अन्ततः जातीय विभेद तथा छुवाछुतरिुद्धको उजुरीमा पक्राउ परेकी आरोपितलाई छुटाउन प्रहरी कार्यालय पुगेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले माफी मागेका छन्। मन्त्री श्रेष्ठले मंगलबार दिउँसो राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेर भूल स्वीकार्दै माफी मागेका हुन्।

तर, दलित अभियन्ताहरुले भने शिक्षा मन्त्रीले माफी मागेर मात्रै नहुने प्रतिक्रिया दिएका छन्। मन्त्री श्रेष्ठले गरेको गल्ती क्षम्य नभएकाले उनले राजीनामै दिनुपर्ने उनीहरुको माग छ।

दलित अभियन्ता रिता परियारले मन्त्री श्रेष्ठले माफी माग्ने तरिका नै सही नभएको धारणा राखेकी छन्। ‘मन्त्री श्रेष्ठले आफ्नो पद र अख्तियारको दुरुपयोग गरेर अनुसन्धान प्रभावित हुने गल्ती गर्नुभएको छ, जुन क्षमा दिन लायकको छैन,’ नेपाली पब्लिकसँग रिताले भनिन्, ‘अनि अर्को कुरा, उहाँले जसरी माफी माग्नुभएको छ त्यो हुँदै भएन। उहाँले मानव अधिकार आयोगको एउटा बन्द कोठामा गएर माफी माग्नुभएको छ।’

मन्त्री श्रेष्ठले सार्वजनिक रुपमै माफी मागेर पादबाट राजीनामा दिनुको विकल्प नभएको रिताको ठम्याई छ।

मन्त्री श्रेष्ठले यो मुद्धामा हस्तक्षेप गरेको दिनदेखि नै उनको राजीनामा मागिरहेका एक अर्का दलित अभियन्ता मनोज विश्वकर्मा पनि रिताको कुरामा सहमत छन्। मन्त्री श्रेष्ठले आफ्नो व्यक्तिगत राजनीतिक अभीष्ट पुरा गर्न यो मुद्धालाई राजनीतिकरण गरेको आरोप मनोजको छ।

‘दलित समूदाय नेवारभन्दा पीडित भए पनि दुवै समूदाय राज्यसत्ताबाट पीडित वर्ग हुन्,’ मनोजको आरोप छ, ‘मन्त्री श्रेष्ठले छानबिनकै क्रममा रहेको मुद्धामा हस्तक्षेप गरेर जातीय विभेदलाई प्रश्रय दिएका छन्। उनले दलित र नेवार समूदायबीच दरार उत्पन्न हुने काम गरेका छन्।’

शिक्षा मन्त्री जस्तो जिम्मेवार र संवेदनशील बसेरे उनले जस्तो काम गरे त्यो क्षम्य छैन। मन्त्री श्रेष्ठले छिटोभन्दा छिटो राजिनामा दिनुपर्ने मनोजको पनि माग छ।

अर्की अभियन्ता इश्वरा सिवा पनि मन्त्री श्रेष्ठले हरहालतमा राजीनामा दिनुपर्ने माग राख्छिन्। मन्त्री श्रेष्ठले राजीनामा दिन नमानेको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनलाई बर्खास्त गर्नुपर्ने इश्वराको भनाइ छ।

‘सरकार वादी भइ चलिरहेको मुद्धामा उनले हस्तक्षेप गर्दा दलित समूदाय झन् मारमा परेको छ,’ इश्वराले भनिन्, ‘उनको कार्यले दलितका लागि यो देशमा कानुन नै छैन भन्ने देखिएको छ।’

छानबिन प्रक्रिया नै प्रभावित गरी मन्त्री श्रेष्ठले रुपा प्रकरणमा हस्तक्षेप गरेपछि अहिले यो मुद्धा दैनन्दिन पेचिलो बन्दै गइरहेको छ। पोखरा, गोरखा, मोरङ् लगायत देशका विभिन्न जिल्लामा रुपा सुनारलाई न्याय र मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै अहिले देशका विभिन्न ठाउँमा आन्दोलन भइरहेको छ।

हिजो पोखराको मानव अधिकार चोकमा ‘जात व्यवस्था उन्मूलन मोर्चा गण्डकी प्रदेश’ को अगुवाईमा भएको प्र्रदर्शनमा प्रदर्शनकारीहरुले शिक्षा मन्त्रीको पुत्ला जलाएका छन्। पुत्ला जलाएर नाराबाजीमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच केहीबेर मुठभेडसमेत चलेको थियो। पुत्ला जलाउनमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जातीय भेदभावको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानलाई छुटाउन मन्त्री श्रेष्ठ ९ असारमा सरकारी झण्डावाला गाडी लिएर महानगरीय प्रहरी वृत सिंहदरबार पुगेका थिए। सञ्चारकर्मी रुपा सुनारले आफूलाई दलित भएकै कारण कोठा नदिएको भन्दै उजुरी हालेपछि पक्राउ परेकी प्रधान तीन दिनदेखि हिरासतमा थिइन्।

तर, प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छोड्न भनेपछि मन्त्री श्रेष्ठले सरस्वतीलाई सरकारी गाडीमा हालेर घर पुर्याइदिएका थिए। नेपाली पब्लिक बाट।