सिस्नो विदेश निर्यात हुन थाल्यो, बिदेशमा नेपाली सिस्नोको माग उच्च

समाचार स्वास्थ्य

१५ असार, काठमाडौं । विदेशमा सिस्नो १ किलोको १ हजार ५ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । अस्ट्रेलिया र नर्वेबाट थप २ क्विन्टल माग आएको छ ।

काठमाडौ,गाउँघरमा यति कै उम्रिने सिस्नो बिस्तारै विदेशी मुद्रा आर्जन गर्ने वस्तु बन्न थालेको छ । विदेशमा एक किलो सिस्नुको धूलो १५ डलर (करिब १५ सय रुपैयाँ) मा बिक्न थालेको छ । निर्यातको आधिकारिक तथ्यांक नभए पनि यसको माग युरोपबाट समेत आउन थालेको व्यवसायी बताउँछन् ।

लगानी बिना उत्पादन गर्न सकिने यो प्राकृतिक उत्पादन हो । सिस्नु जंगल, पहाड खेतबारी जताततै भेटिन्छ । यसको पातमा पनि काँडा हुने भएकाले पहिले पहिले विद्यार्थी र बालबालिकालाई तर्साउन पनि प्रयोग हुन्थ्यो । सुदूरपश्चिम तिर वैशाख १ (विशु पर्व) का दिनमा एक अर्कालाई लगाउने संस्कृति पनि छ । अब यसको सांस्कृतिक मात्र नभई औषधीय उत्पादनका रूपमा विदेशमा समेत माग बढ्न थालेको छ ।

‘सिस्नु उत्पादनमा लगानी चाहिँदैन । अलि मिहिनेत गर्न सके प्रशस्तै कमाउन सकिन्छ । निर्यात पनि गर्न सकिन्छ,’ कणर्ाली जडीबुटी उत्पादक सहकारीका अध्यक्ष अज बहादुर गिरीले भने, ‘अघिल्लो वर्ष हकङक र अस्ट्रेलियामा डेढ क्विन्टल -१ सय ५० किलो) निर्यात गरेका थियौं ।’ उनका अनुसार विदेशमा सिस्नु १ किलोको १ हजार ५ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । अस्ट्रेलिया र नर्वेबाट थप २ क्विन्टल माग आएको उनले बताए । व्यवसायीका अनुसार स्ािस्नु प्रायः सुप, चिया र औषधिका रूपमा प्रयोग गरिन्छ । सिस्नु मुख्यतः पहाड र हिमाली भेगमा पाइन्छ । गाउँघरमा भैंसीलाई औषधि र तरकारीमा पनि प्रयोग गरिन्छ ।

व्यवसायीका अनुसार यसले कमजोरी हटाउएर रूघाखोकी निको पार्ने, आइरनको परिपूर्ति गर्छ । यस्तै पाचन प्रक्रिया, पिसाब प्रशोधन, आँखाको तेज वृद्धि, खाना रुचि बढाउने यसको अर्को विशेषता हो । मधुमेह नियन्त्रणमा पनि यसको उपयोग हुने विज्ञ बताउँछन् । व्यवसायीका अनुसार सिस्नुको मुन्टोलाई चिम्टीको सहायताबाट टिपेर पानीको ट्यांकीमा करिब १५ मिनेटसम्म राखिन्छ । त्यसपछि सोलार ड्रायरमा राखेर सुकाइन्छ । सुकेपछि पातलाई चोक्टा बनाउन स्टिल मेसिनले धुल्याइन्छ ।

‘त्यसपछि बिनारसायन प्राकृतिक धूलोलाई टिमुरको साथमा प्याकिङ गरिन्छ,’ गिरीले भने । उनले सिस्नु चियाका रूपमा समेत प्रयोग भएकाले विदेशमा समेत माग बर्सेनि बढ्दै गएको जानकारी दिए । ‘माग बढ्न थालेपछि कारोबार बर्सेनि बढदो छ,’ उनले भने । व्यवसायीका अनुसार भदौ, असोज, फागुन र चैतमा सिस्नुको उत्पादन बढी हुन्छ ।

हिमालयन एग्रो प्रोडक्टका सञ्चालक विशाल राईले सिस्नुबाट बनेका चिया र सुप रक्तचाप र डाइबिटिजका बिरामीलाई धेरै उपयुक्त हुने बताए । ‘सिस्नुको सुपले रोगीलाई चाँडै सकारात्मक प्रभाव पार्छ,’ उनले भने, ‘यो जडीबुटी र अग्र्यानिक भएकाले निर्यात पनि राम्रो छ ।’ उनले सिस्नुमा आइरन बढी भएकाले गर्भवती महिलाका लागि पनि उपयोगी हुने व्यवसायीको दाबी छ ।

‘काम थालेको ८ महिना भयो । स्वदेश तथा विदेश गरी करिब ३५ लाख रुपैयाँको कारोबार भएको छ,’ राईले भने, ‘विदेशमा माग व्यापक छ । तर पूर्ति गर्न सकेका छैनौं ।’ उनले ८ महिनामा करिब ११ लाख रुपैयाँ बराबरको सिस्नु हङकङ र बेलायतमा निर्यात गरेको बताए ।

‘हङकङमा ९ लाख र बेलायतमा २ लाख रुपैयाँको निर्यात भयो,’ उनले भने, ‘चीन, हङकङ र अस्ट्रेलियाबाट पनि माग छ । तर माग पूर्ति भएको छैन ।’ उनले चीनबाट मात्रै महिनाको ५ टन माग भएको बताए । ‘तर उत्पादन जम्मा ५ सय किलो छ,’ राईले भने । यस्तै, डेनमार्क र अस्ट्रेलियामा पनि सिस्नुको नमुना -स्याम्पल) पठाएको उनले बताए । माग पूरा गर्न काभ्रेमा डेढ रोपनी जग्गामा परीक्षण खेती सुरु गरेको उनले बताए ।

मुलुकमा सिस्नु प्रशस्त भए पनि प्राविधिक रूपमा टिप्न समस्या भएको व्यवसायीहरू बताउँछन् । बेलायत र चीनमा प्रचुर सम्भावना भए पनि मुलुकमा परीक्षण गर्ने प्रयोगशाला छैन । उनीहरूका अनुसार सम्बन्धित सरकारले अनुमति दिए निर्यात सजिलो हुन्छ । ‘विदेशमा आएको मागलाई नेपालको जंगलबाटै पूर्ति गर्न सकिन्छ,’ उनले भने, ‘तर सरकारले परीक्षण गर्ने प्रयोगशाला र तालिमको व्यवस्था गर्नुपर्छ ।’ यसका साथै अन्तर्राष्ट्रिय बजारमा पनि प्रचारप्रसार गर्नुपर्ने उनीहरूको माग छ ।