दलित भन्दै कोठा नदिएपछि घरबेटी पक्राउ

समाचार

६ असार, काठमाडाैं । काठमाडौं महानगरपालिका-११ बबरमहलकी ५८ वर्षिया सरस्वती प्रधानले थरका कारण रूपा सुनारलाई कोठा नदिएकाे भन्दै प्रहरी पक्राउ परेकाे छ।

प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

‘उनलाई भर्खरै पक्राउ गरिएको हो, अब जिल्ला अदालतमा लगेर म्याद थप्छौँ अनि अनुसन्धानलाई अगाडी बढाउछौँ,’ एसएसपी सिंहले भने।

यसअघि गत असार ३ गते घरबेटी प्रधानविरुद्ध दलित भएकै कारण कोठा नदिने भनिएपछि सञ्चारकर्मी रुपा सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएकी थिईन् ।

प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।