मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

Headlines समाचार

४ असार, कास्की। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्। गण्डकी सरकारका प्रवक्ता कुमार खड्काका अनुसार आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेका हुन्।

यसअघि नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ्ले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ।

तर, बिहीबार बाढीको क्षतिको अवलोकनका लागि मनाङ पुगेका मुख्यमन्त्री पोखरेल उतै अड्किएका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत मनाङ पुगेका उनी मौसम खराबीका कारण फर्किन नसकेका हुन् ।

पोखरा फर्कने प्रयास भए पनि मौसममा आएको खराबीले हेलिकप्टर उड्न नसकेपछि हेलिकप्टर पुनः चामे फर्काइएको नेपाली सेनाले जनाएको छ। मुख्यमन्त्री पोखरेलको साथमा सांसद राजीव गुरुङ पनि रहेका छन्। उनीहरुको टोली अहिले पोखरा आउने तयारीमा रहेको स्रोतको भनाइ छ।