निरन्तर मर्निङ्ग वाक गर्नेहरु भन्छन् : प्रशासनले लकडाउनको बहानामा थुनेर राख्यो

Headlines समाचार स्वास्थ्य

३१ जेठ, काठमाडौँ । काठमाडौंको नागार्जुन बाट उकालो तिर बिहानै पाइलाहरु चाल्दै गर्दा स्वास्थ्य को ख्याल गर्दै सबै उमेर समुहका मानिसहरु मास्क लगाएर चिसो हावा खादैं हिडिरहेका भेटिन्छन। काठमाडौंको इचंगुनारायण स्थित मर्निङ ट्रयाकमा एकाबिहानै हिँडिरहेका भेटिए – गोविन्द पन्त। काठमाडौँ को रानीबन घर भएका उनि हरेक दिन ३ घण्टा हिड्दा रहेछन। बिहानै ४:३० मा जुरुक्क उठेर उनको गन्तब्य उकालो हुदै सेतो गुम्बा हुने रहेछ। उनि भन्छन: बिहानै उठेर उकालो हिडेपछि जुन आनन्द आउँछ, अरुमा पाउन सकिदैन। सबैलाई हसाएर मर्निङ्ग वाकलाई रोमाञ्चककारी बनाउने उनको बानीले गर्दा पनि सबैलाई बिहान हिडेको पत्तै नहुने रहेछ। पन्त भन्छन्, लकडाउन मा घरमै कुँजिएर बस्नु भन्दा स्वास्थ्य मापदण्डको पालना गर्दै फटाफट हिड्नु बेश हुन्छ तर यत्रो समय प्रशासन ले घर भित्र थुनेकोमा आक्रोश पोख्छन्।

मर्निङ वाकले शारीरिक र मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पारेको अनुभव गर्ने पन्त एक्ला होइनन् । लम्जुङ्ग घर भएर हाल रानीबन सुनगाभा टोल बस्दै आएका नारायण न्यौपाने अर्का प्रतिनिधि हुन् । १५ वर्षदेखि निरन्तर मर्निङ वाक गर्दै आएका उनी निद्रा खुल्नेबित्तिकै घरबाट निस्किहाल्छन् । सेतो गुम्बा आसपास र बनपाखा सारा घुम्छन् र फर्किन्छन् । बर्खायाममा पनि साथमा छाता बोकेर उनि मर्निङ्ग वाकमा निस्किरहेका हुन्छन्। मर्निङ वाकको थुप्रै फाइदा उनले अनुभव गरेका छन् । पेशाले लेखापरिक्षक उनी सुनाउँछन्, ‘मर्निङ वाक गरेपछि शरीर फिट हुन्छ । अल्छी लाग्दैन । मीठो निद्रा पर्छ । मानसिक रूपमा स्वस्थ अनुभव हुन्छ । उनि आफु मात्र होइन, अरुलाई पनि संगै हिड्न र शरीर फुर्तिलो राख्न हौसला थपिरहेका हुन्छन्।

न्यौपाने जस्तै निरन्तर मर्निङ वाक गर्छन् गोरखाका जनित थापा । ४० कटिसकेका उनको ‘फिट एन्ड फाइन’ शरीर देखेर उनका साथीहरू तारिफ गर्छन् । ‘मेरै उमेरका साथीहरू मभन्दा १० वर्ष जेठा देखिन्छन्,’ उनी भन्छन्, ‘म नियमित मर्निङ वाक गर्छु, शरीर फिट छ ।’ त्यसो त उनी मर्निङ वाकसँगै बेलुका नियमित व्यायाम पनि घरमै गर्छन् ।

पन्त, न्यौपाने र थापा त प्रतिनिधि पात्रहरु हुन। बिहानै मर्निङ्ग वाकमा थुप्रै भेटिन्छन। कोहि फर्किरहेका हुन्छन्, भने कोहि उकालो चढिरहेका हुन्छन्। सेतो गुम्बालाइ गन्तब्य बनाउने हरु को समूह ठुलो रहेछ तर त्यो समूहहरु संगै भने हिड्दैनन। आफ्नो आफ्नो सुर मा हिड्छन् अनि डाँडामा भने एकछिन भेटेर गफिने गर्छन। भर्खर मात्र मर्निङ्ग वाक लाइ नियमित गरेका नारायण रेग्मी भन्छन्, यतिका बर्षसम्म काठमाडौँको खाल्डोमा बसियो तर यो ठाउमा आएको थिइन। बिहानै उकालो चढेर, चराहरुको चिरबिर चिरबिर आवाज सुन्दै डाँडामा उक्लेर स्वच्छ हावा लिएपछि शरीर फुर्तिलो हुने रैछ, रेग्मी बताउछन्। अब मर्निङ्ग वाक नियमित गर्ने प्रण पनि गर्छन् उनि।

बिहान फटाफट हिड्नु अत्यन्तै राम्रो : डा. ओममूर्ति अनिल

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल चाहिँ हिंड्नका लागि समय र तापक्रमले केही पनि फरक नपार्ने बताउँछन् । बिहानको समयमा हिँडनु स्वास्थ्यका लागि अझ लाभदायक हुने उनको तर्क छ । उनी भन्छन्, ‘बिहान खाली पेटमा हिँड्दा कुनै जोखिम हुँदैन ।’ यद्यपि चिसो मौसममा भने घाम उदाएपछि हिँड्न सुझाव दिन्छन् । त्यसो गर्दा चिसोले असर गर्ने सम्भावना नहुने उनको भनाइ छ । अहिले समयमा भने, बिहान ४:३० मै जुरुक्क उठेर हिड्नु अत्यन्तै राम्रो हुने बताउछन्।

मानवको विकासक्रम हिँडाइसँग जोडिन्छ । खानाको खोजीमा दिनहुँ ४० देखि ५० किलोमिटरसम्म हिँड्दै मानिसको विकास भएको छ । मरुभूमिमा घोडाभन्दा बढी मानिस हिँड्न सक्छ । मानिसको पसिनाले शरीरलाई सन्तुलित गर्छ र नियमित हिँड्न सक्छ । यसरी हिँड्नका लागि बनेको मानव शरीरले हिँड्न छोड्दा अनेक रोग लाग्छ ।

मर्निङ वाकले मानवको त्यही हिँडाइको आवश्यकता पूरा गर्छ । नियमित मर्निङ वाक गर्दा शरीरमा विभिन्न रसायन उत्पन्न हुन्छन्, जसले एन्जाइटी/डिप्रेसनबाट बचाउँछ, शरीरमा स्फूर्ति ल्याउँछ । शरीरबाट इन्डोर्फिन भन्ने रसायन रिलिज हुँदा ताजापन र उत्साह पैदा गर्छ । हड्डी, मांसपेशी, पाचन प्रणाली, मुटु, रक्तसञ्चार प्रणाली, स्नायु प्रणालीदेखि मानसिक अवस्थालाई समेत स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । आधुनिक विकासले मानिसलाई कम हिँडाइरहेको छ । यसले दिनानुदिन मानिसमा रोग बढिरहेको छ । त्यसैले हिँडाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

कुन बेला हिँड्ने ?

जुन बेला फुर्सद मिल्छ, त्यही बेला हिँड्नुपर्छ । बिहान, बेलुका वा दिउँसो, जुन बेला हिँडे पनि केही फरक पर्दैन । यसमा समय वा तापक्रमले केही फरक पार्दैन । दिउँसो अन्य काममा व्यस्त हुँदा हिँड्न नभ्याइन सक्छ, त्यसैले बिहानको समय छुट्याउँदा उत्तम हुन्छ । साथै, प्रेसर, मुटुरोग, मोटोपना र रक्तसञ्चारमा गडबडी भएका मान्छेहरूलाई खाना खाएपछि हिँड्न गाह्रो हुन्छ । त्यसैले त्यस्ता मान्छेहरूले बिहान खाली पेटमा अलिकति पानी खाएर हिँड्नु राम्रो मानिन्छ । स्वस्थ मान्छे भने खाना खाएर पनि हिँड्न सक्छन् ।

कति हिँड्ने ?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार १८ वर्षभन्दा माथिका वयस्कहरूले कम्तीमा दैनिक ३० मिनेट र हप्तामा ५ दिन हिँड्नुपर्छ । त्यस्तै हप्तामा २ दिन मसल्सको एक्सरसाइज गर्नुपर्छ । यो कम्तीमा हो । हामीचाहिँ दैनिक एक घण्टा हिँड्नुपर्छ र बच्चाहरूले एक घण्टाभन्दा बढी हिँड्नुपर्छ भन्छौं । वृद्धवृद्धाहरूले त दैनिक २ घण्टा हिँड्न जरुरी छ । उनीहरूको गति कम हुन्छ, त्यसैले बढी हिँड्नुपर्छ ।

सबैले औसतमा एक घण्टा हिँड्न जरुरी छ । स्वस्थ मान्छेलाई रोग लाग्न नदिनका लागि, रोगी मान्छेलाई रोगलाई नियन्त्रण गर्नका लागि दिनमा एक घण्टा हिँड्नु राम्रो हो । सकिँदैन भने कम्तीमा आधा घण्टा भए पनि फटाफट हिँड्नुपर्छ । ब्लडप्रेसर, सुगर वा कोलेस्ट्रोल छ भने त एक घण्टा हिँड्नैपर्छ । ३० मिनेटमा ३ किलोमिटर हिँड्नु राम्रो मानिन्छ । नसक्नेले बिस्तारै हिँड्नु पनि राम्रो हो, तर जसले हिँड्न सक्छ, उसले सकेसम्म छिटो हिँड्ने कोसिस गर्नुपर्छ ।