ओली द्वारा माधव पक्षका ४ युवा नेतालाई आकर्षक मन्त्रालयको प्रस्ताव

राजनीति समाचार

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री ओलीले माधव नेपाल समूहका प्रभावशाली ४ नेतालाई आकर्षक मन्त्रालयको ललीपप देखाएर उनीहरुलाई आफ्नो पक्षमा ल्याउने कोसिस जारी राखेका छन् ।

ओलीले घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्टलाई आकर्षक मन्त्रालयको ललीपप देखाउँदैआएका छन् । माधव नेपाल समूहमा रहेका यी चार नेतालाई आफ्नो पक्षमा ल्याउन सकेमा थप केही सांसद पनि आउने विश्वासमा ओली पक्ष छ ।

ओली पक्षले भूसाललाई कृषि तथा पशुपंक्षी मन्त्रालयको प्रलोभन दिएको छ । सुरेन्द्र पाण्डेलाई संचार तथा सूचना प्रविधि मन्त्रीको ललीपप देखाउँदैआएको छ । गोकर्ण बिष्ट र योगेश भट्टराईलाई वन तथा वातावरण र उद्योग मन्त्री दिने प्रस्ताव पुर्याइरहेको छ । माधव नेपाल समूहलाई छाडेर आएमा आगामी महाधिवेशनमा महासचिव बनाउने, चुनावमा उनीहरु र उनीरुले भनेका केहीलाई टिकट दिनेसम्मका आश्वासन पनि ओली समूहले दिंदैआएको छ ।

४ नेतालाई मन्त्री दिएर माधव नेपाल समूहलाई छिन्नभिन्न बनाउने दाउ अन्तर्गत नै शुक्रबार ७ मन्त्रालय खाली राखी १५ मात्रै मन्त्री नियुक्ति गरिएको छ । २ राज्यमन्त्री सहित शुक्रबार १७ सदस्यीय मन्त्रिपरिषद बनाएका ओलीले माधव नेपाल समूहका नेतालाई फकाउने क्रम जारी नै राखेका छन् । तर ओलीले पार्टी एकता भन्दा पनि माधव नेपाल समूहलाई कमजोर बनाउने जालझेल गरिरहेकाले त्यसमा नपर्ने पक्षमा युवानेताहरु अडिग छन् । शनिबारको स्थायी समिति बैठकमा १५ जनै नेताहरु सहभागी हुनुले पनि ओली रणनीति सफल नहुने संकेत गरेको छ । यी चार नेता पार्टी एकताको पक्षमा भएकाले पनि ओली समूहले उनीहरुको बदनाम गर्न मन्त्री हुने हल्ला चलाएको छ । नेपाल फेस वाट।