महतोको बिबादास्पद अभिव्यक्ति विरुद्ध एमालेका १५ नेताले जारी गरे संयुक्त वक्तव्य

Top Post समाचार

२२ जेठ, काठमाडौँ। नेकपा एमालेका नेताहरुले हिजो मात्र उपप्रधानमन्त्री नियुक्त भएका जसपाका नेता राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गरेका छन् । शनिबार एमालेका बरिष्ठ नेता माधव कुमार नेपालसहित १५ नेताले संयुक्त वक्तव्य जारी गर्दै मन्त्री महतोको विरोध गरेका हुन् ।

‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, नेपालसहितका नेताको संयुक्त वक्तव्यमा भनिएको छ ।

यस्तो अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको ठहर गरिएको छ ।

१५ नेताले महतोको संविधान विरोधी उक्त अभिव्यक्तिबारे केपी ओलीबाट स्पष्ट पारिनुपर्ने माग गरेका छन् ।