ओलीले पुन: मन्त्रीपरिषद् विस्तार गर्दै, ज्ञवाली र अधिकारी मध्ये एक गृहमन्त्री वन्न सक्ने

Headlines समाचार

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्यलाई पुनः तिव्रता दिनुभएको छ । आफूसँग थप सात मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेको समाचार गोरखापत्र दैनिकको अनलाइनले प्रकाशित गरेको छ ।

आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको एमालेका नेताहरुले बताउनुभएको छ । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उहाँहरुलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।

नाम नबताउने शर्तमा एक एमाले नेताले भन्नुभयो, “भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी गर्नुभएको छ, प्रधानमन्त्रीको गृहकार्य त्यतै लक्षित देखिन्छ ।” भोलि शपथ खानसक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनी रानाको नाम अग्रपङ्तिमा छ । प्रधानमन्त्रीका विश्वासिलो पात्रकोरुपमा परिचित बस्नेत मन्त्री हुनुभएमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिनुभयो ।

सोहीअनुसार यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमालेबृत्तमा चर्चा छ । प्रदीप ज्ञवाली दोहोरिनु भएमा उहाँलाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको बुझिएको छ । यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएका खगराज अधिकारी पनि गृहमन्त्रालयको इच्छा व्यक्त गर्नुभएको एमाले स्रोतले बताएको छ । गोरखापत्र अनलाइनले लेखेको छ ।