खोप कार्डको दुरुपयोग बारे समाचारमा सत्यता छैन, भ्रममा नपर्न अनुरोध गर्छु: उपाध्यक्ष शर्मा

समाचार

१३ जेठ,  काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टिटिडिस) का उपाध्यक्ष भबिश्वर शर्माले कोरोना विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो डोज लगाउन खोप कार्डको दुरुपयोगबारे भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै आपत्ती जनाएका छन् । विगत लामो समयदेखि आफूले गर्दै आएको कामलाई असफल पार्न लागिरहेका ठमेलका केही व्यक्तिले बदनियतपुर्ण ढंगले खोप सम्वन्धि भ्रमपुर्ण समाचार प्रकाशन गर्न लगाएको भन्दै उनले आपत्ति जनाएका हुन ।

‘समाचार लेख्दा सम्वन्धित पक्षको भनाई अनिवार्य हुनुपर्ने पत्रकारिताको न्यूनतम मूल्य मान्यता समेत विर्सिएर केही मिडियाहरुले यससम्वन्धमा समाचार संप्रेषित गरेकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ उपाध्यक्ष शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘पित पत्रकारिताको रुपमा प्रकाशित उक्त सामाग्रीप्रति कानूनी कारबाहीका लागि सम्वन्धित निकाय प्रेस काउन्सिलमा उजुरी दर्ता गरिसकेको छु ।’

समाचारमा आरोप लगाइए जस्तो आफूले पहुँचका आधारमा खोप कार्ड बितरण नगरेको र भविष्यमा पनि त्यस्तो काम सोच्न पनि नसक्ने भन्दै भ्रममा उक्त समाचारमा कुनै सत्यता नरहेकाले भ्रममा नपर्न ठमेलका व्यवसायी र घरधनीलाई उनले आग्रह गरेका छन् । कोरोनाबाट समस्यामा परेका ठमेलका घरधनी र व्यवसायीहरुलाई थोरै भएपनि राहत पुर्याउन भनेर दिनरात लागिरहेको बेला गुण्डागर्दी शैलीमा पटक पटक धाकधम्की दिएर तर्साउन खोजिएको पनि उनको आरोप छ ।

जेठ १ गतेदेखि ११ गतेसम्म ठमेल क्षेत्रका व्यवसायी तथा घरधनीहरुले कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएका छन् । परिषदको पहलमा १० हजार व्यवसायी घरधी एवम् कर्मचारीहरुले खोप लगाएका छन् ।

यस्तै उनले परिषद्ले गतबर्षबाट कोरोना महामारी शुरू भए पश्चात ठमेलका घरधनी र व्यबसायीहरुको सुमधुर सम्बन्ध कायम गरि भाडा समायोजन गर्ने, विद्युत डिमाण्ड शुल्क मिनाह गर्ने, बिना धितो ठमेलका ब्यवसायीहरूलाई १५ लाख रुपैयाँसम्म सहुलियतपुर्ण ऋण उपलब्ध गराउने काम गरेर प्रभावित व्यवसायीहरुलाई राहत दिने काम गरेको भन्दै आगामी दिनमा पनि बिचलित नभई सामाजिक कार्यमा लागिरहने बताए ।