स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी, संकटकाल लागेमा के हुन्छ ?

Top Post समाचार

१२ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य आपत्काल घोषणाको तयारी गरेको छ । पुनर्गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकले स्वास्थ्य आपत्कालसहित कोभिड अध्यादेश कार्यान्वयनका लागि योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

‘स्वास्थ्य आपत्कालसहित अध्यादेशमा भएका व्यवस्था कसरी कार्यान्वयन गर्ने भनेर छलफल भयो, त्यसअनुसार अब सिसिएमसी र सम्बन्धित मन्त्रालयले योजना बनाउँछन्,’ स्वास्थ्यमन्त्रीसमेत रहेका निर्देशक समितिका सदस्य हृदयेश त्रिपाठीले बैठकपछि भने । स्वास्थ्य आपत्काल घोषणा गर्न मिल्ने कानुनी प्रबन्धसहित सरकारले गत बिहीबार मात्रै कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको थियो ।

महामारी रोक्न स्वास्थ्य आपत्काल घोषणा गर्नुपर्ने निष्कर्षसहित स्वास्थ्य मन्त्रालयले आपत्कालसम्बन्धी मापदण्डको मस्यौदा अर्थ मन्त्रालय पठाइसकेको छ । ‘आपत्काल सीधै घोषणा गर्ने कुरा होइन, अध्यादेशले त प्रावधान कायम गरेको हो । आपत्कालमा के–के गर्न पाइन्छ, के गर्न पाइँदैन ? महामारी नियन्त्रणमा कसको भूमिका के रहने भनेर मापदण्ड, कार्यविधि बनाउनुपर्ने हुन्छ,’ मन्त्री त्रिपाठीले भने, ‘अर्थको रायपछि मापदण्ड मन्त्रिपरिषद्मा पेस हुन्छ । त्यसपछि आवश्यकताअनुसार आपत्काल घोषणा हुने हो ।’

स्वास्थ्य आपत्काल घोषणा भयो भने के हुन्छ त ?
स्वास्थ्य आपत्काल घोषणा भएमा के हुने भन्ने बारे अध्यादेशमा यस्तो व्यवस्था गरिएको छ :

– स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचार गर्न लगाउने ।

– आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने ।

– जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोभिड १९ को निदान र उपचारको काममा लगाउने ।

– नेपाल सरकार, प्रदेश र स्थानीय तह वा प्रचलित कानूनबमोजिम स्थापित शिक्षण संस्था, प्रतिष्ठान, बोर्ड, संस्थान, सरकारी स्वामित्वका कम्पनी वा अन्य सार्वजनिक संस्था वा निकायमा कार्यरत जनशक्ति, सवारी साधन, भवन, संरचना वा अन्य भौतिक साधन कोभिड १९ को रोकथाम नियन्त्रण, निदान र उपचारमा लगाउने ।

– आवश्यकताअनुसार सरकारी, सार्वजनिक, निजी, सहकारी, सामुदायिक वा गैरसरकारी स्वामित्वमा रहेका जग्गा, भवन, संरचना र सवारी साधनको अभिलेख राखी प्रयोग गर्ने ।

– सरकारी, सार्वजनिक, निजी, सहकारी, सामुदायिक वा गैरसरकारी संस्थाबाट उत्पादन वितरण वा बिक्री गर्ने औषधि, स्वास्थ्य सामग्री तथा उपकरण नियन्त्रणमा लिई प्रयोग र वितरणको व्यवस्था गर्ने वा गराउने ।

यस्तै आवश्यक भएमा मानिस तथा गाडीको आवातजावत रोक्ने कुरा पनि अध्यादेशमा लेखिएको छ । दफा ४ मा आपतकाल घोषणा भएमा वा काेराेनाको संक्रमणको कारण जनस्वास्थ्यमा जोखिम देखिएमा त्यसको विश्लेषणका आधारमा विभिन्न संस्था तथा मानवीय क्रियाकलापलाई केही समयका लागि बन्द वा निश्चित आदेश दिएर सञ्चालनको आदेश दिनसक्ने व्यवस्था गरिएको छ ।

– मानिसको आवत जावत ।

– हवाई, स्थल तथा अन्य सबै प्रकारका यातायातका साधन सञ्चालन ।

– अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन ।

– सरकारी, सार्वजनिक, निजी, सहकारी, सामुदायिक वा गैरसरकारी कार्यलय , शिक्षण संस्था वा अन्य संस्था सञ्चालन ।

– सभा, सम्मेलन, जुलुस, मेला, महोत्सव, जात्रा जस्ता भीडभाड हुने क्रियाकलाप ।

– सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, रेष्टुरेन्ट, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, डिपार्टमेन्ट स्टोर, पसल तथा बजार सञ्चालन ।

– धार्मिक अनुष्ठान, धार्मिक स्थलमा हुने क्रियाकलाप ।

– नामकरण संस्कार, विवाह, मृत्यु संस्कार जस्ता सांस्कृतिक क्रियाकलाप ।

– मानिस या सवारी साधनको आवागमन हुने वा भीडभाड हुने अन्य क्रियाकलाप ।