नेपाल पक्ष राजिनामाका लागि अन्तिम तयारीमा, कानुनि परामर्श गर्दै

Top Post समाचार

३० बैशाख, काठमाडौँ। एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा लगायतका विषयमा कानुनी परामर्श थालेका छन् । नेता नेपालले आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले जानकारी दियो ।

वरिष्ठ नेता नेपाल पक्षले सांसद पदबाट राजीनामा गर्ने अन्तिम तयारी गरेको छ । यता सामुहिक राजीनामा गरे समस्यामा पर्ने बुझेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजै नेपाल सहित चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसारको बहुमतीय सरकार गठनका लागि दिएको म्याद सकिन लागेसँगै नेताहरुले आन्तरिक छलफललाई तिव्र पारेका हुन् । ओली नेतृत्वको सरकारको विकल्पमा काँग्रेससहितको गठबन्धनले नयाँ सरकार बनाउने भनेपनि संसदीय गणितका लागि माधव समुहको सहयोग आवश्यक देखिन्छ ।