जसपाका नेताहरू रअ प्रमुख भेट्न भारतिय दुतावासमा

Top Post राजनीति समाचार

२६ वैशाख, काठमाडौं । जसपा नेताहरु एक छिनअघि बूढानीलकण्ठ पुगी काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई केपी ओलीले लिन लागेको बिश्वासको मतमा भोलि तटस्थ बस्ने संकेत दिएर फर्किएका छन् ।

सत्ता राजनीतिमा एकाएक निर्णायक बनेर उदाएको जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित हुँदा राजनीतिको केन्द्रीय भूमिकाबाट पाखा लागेको छ । एमालेकै माधव नेपाल समूह निर्णायक बनेर आएपछि आफूहरु पाखा लाग्नुपरेको यो पक्षको विश्लेषण छ ।

यस्तो विश्लेषण जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले अस्ति नेपाल आएका रअ प्रमुख राघव पी.भटनागर र राजदूत बिनयमोहन क्वात्रालाई सुनाएका हुन् । दूतहरुलाई भेट्न अस्ति अपरान्ह पौने पाँच बजे अलगअलग लैनचौरस्थित भारतीय दूतावास पुगेका उनीहरुले ओली सरकार थाम्न अन्तिमसम्म प्रयास गरेको तर नेपाल समूहका कारण सफल नभएको रिपोर्टिंग सुनाएको स्रोतको दाबी छ । उनीहरूका अनुसार,ओलीले अहिले जसपाबाट बिश्वासको मत लिन चाहेका छैनन् बरु जसपा अर्को सरकार गठनमा देउवाहरुलाई साथ दिन नपुगोस् भन्ने मात्र उनको ध्याउन्न देखिन्छ ।

फरक-फरक समयमा दूतावास छिरेका ठाकुर र महतो डेढ घण्टा बसेर सँगैजसो बाहिरिएका थिए । स्रोतका अनुसार सत्ता राजनीतिमा एमालेकै माधव नेपाल समूह निर्णायक बनेपछि आफूहरुले चाहेर पनि सरकार जोगाउन नसक्ने अवस्था बनेको उनीहरुले क्वात्रा र राघवलाई बताए ।

आफूहरुले साथ दिए पनि अहिले ओली नटिक्ने र आफ्नो पार्टी पनि नजोगिने बिडम्वनापूर्ण अवस्था आइलागेको उनीहरुको भनाइ थियो ।

“हाम्रो भोटले न ओलीलाई पुग्छ,न जसपाको ३२ वटै भोट एकढिक्को भएर उनलाई खस्छ ।” महतोको अन्तिम निश्कर्ष थियो । – जनआस्था डटकम वाट