संवैधानिक परिषद्को बैठक सकियो, यस्ता छन् निर्णयहरू

Top Post समाचार

२६ वैशाख, काठमाण्डाै । संवैधानिक परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, महिला आयोगसहित केही आयोगमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ । तर कुन आयोगमा कसलाई सिफारिस गरियो भन्ने अझै खुलेको छैन ।

रिक्त धेरै पदपूर्तिको लागि पदाधिकारीको नाम सिफारिस भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा उपस्थित हुनुभएन । प्रधानमन्त्री ओलीले संसद छलेर स्वेच्छाचारी रुपमा अध्यादेश ल्याएको र संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै सापकोटा यसअघिको बैठकमा पनि सहभागी हुनुभएको थिएन ।

पछिल्लो पटक बैशाख २१ गते जारी भएको अध्यादेशमा अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ । परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।