सरकार कोरोना प्रति जिम्मेवार वन्न सकेन: नेता श्रेष्ठ

समाचार स्वास्थ्य

२५ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोनाको महामारी भयावह भएको र नेपाल संक्रमण र मृत्युदर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लागेको उनले आरोप लगाएका छन् । सरकारबाट यस्तो संवेदनशील अवस्थामा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पीडादायी स्थिति रहेको बताउँदै श्रेष्ठले सबै मिलेर आम नागरिकको जीवन रक्षामा लाग्न आग्रह गरे ।

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेकाले गरीब, बिपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन, भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुगेकोमा दुख व्यक्त गरे । उनले भने, ‘अर्थतन्त्र ध्वस्त हुने खतरा देखिंदैछ । तसर्थ श्रमजीवी वर्गलाई तत्काल राहत प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाका लागि पनि बिशेश योजना आवश्यक छ । सरकार र राजनीतिक पार्टीहरुले यसलाई पहिलो र मुख्य कार्यभार बनाऔं ।’

विषम परिस्थितिमा राजनीतिक नेता, कार्यकर्ता, संगठन र समाजसेवीहरुलाई आफूलाई बचाउने मात्रमा सीमित नरही जोखिम मोलेर समाजको लागि स्वयम्सेवा गर्न तयार रहन उनले आग्रह गरे । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको अवस्था डरलाग्दो छ । अक्सिजन, भेन्टिलेटर र आइसीयु अभावमा संक्रमितहरु भटाभट जीवन गुमाउन बाध्य छन् ।