एउटै डोजले काम गर्ने स्पुतनिक लाईट रूसले ल्यायो

अन्तरास्ट्रिय समाचार स्वास्थ्य

२४ बैशाख, एजेन्सि । रुसले कोरोनाको सिंगल डोज खोप निर्माणमा सफलता हासिल गरेको छ ।

यस खोपको नाम स्पुतनिक लाइट दिइएको छ र यो खोप ७९ दशमलव ४ प्रतिशत प्रभावकारी हुने अधिकारीहरुले बताएका छन् ।

यो खोप मस्कोस्थित गामलिया रिसर्च इन्स्टिच्युटले बनाएको हो, यसअघि यही इन्स्टिच्युटले स्पुतनिक भी नामक खोप बनाएको थियो ।

विश्वका ६० देशमा यसको प्रयोग भइरहेको छ । रुसले यो खोपलाई कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोपका रुपमा प्रचार गरिरहेको छ ।

भारतले स्पुतनिक खोपलाई अनुमति दिइसकेको छ र १ मे देखि यसको पहिलो डोज भारतमा आइसकेको छ ।

त्यसैले, नयाँ सिंगल डोजको लाइट खोपलाई पनि भारतले चाँडै अनुमति दिने अनुमान गरिएको छ ।

स्पुतनिक भी जसरी नै स्पुतनिक लाईटलाई पनि रसियन डाइरेक्ट इनभेस्टमेन्ट फन्डले लगानी गरेको छ ।

यस कम्पनीका सिइओ किरिल दिमिट्रियवका अनुसार यस खोपको मूल्य १० डलर (झन्डै ११८० रुपैयाँ) पर्नेछ ।

यस खोपको फेज ३ ट्रायलमा ७ हजार मानिस समावेश भएका छन् । घाना, रुस र युएईमा ट्रायल चलेको थियो ।

२८९ दिनपछि यसको डाटा एनालाईज गरियो । जसअनुसार यो खोप कोरोनाका सबै नयाँ स्ट्रेनमा असरदार रहेको पाइयो । डाटाले देखाएअनुसार अन्य दुई डोजका धेरै खोपभन्दा यो धेरै असरदार छ ।

स्पुतनिक लाईटका फाइदा

– यसको समग्र प्रभावकारिता ७९ दशमलव ४ प्रतिशत छ । खोप लगाएका १ सय प्रतिशत मानिसमा १० दिनपछि एन्टिडबडिज ४० गुणासम्म बढ्यो ।

– खोप लगाएका सबै मानिसमा कोरोना भाइरसको एस प्रोटिन विरुद्ध प्रतिरोध प्रतिक्रिया विकास भयो ।

– यस खोप एकै डोजको भएकाले धेरै जनसंख्या भएका देशमा खोप लगाउने दर बढाउन सकिनेछ ।

– स्पुतनिक लाईटलाई २ देखि ८ डिग्री तापक्रममा भण्डारकण गर्न सकिन्छ । अर्थात्, यसको ओसार पसार गर्न सहज छ ।

– पहिल्यै कोरोना भइसकेका व्यक्तिमा पनि यसले प्रभावकारी काम गर्छ ।

– खोप लगाइसकेपछि कोरोनाको गम्भीर असरको खतरा कम हुनेछ, प्रायःजसो मामिलामा बिरामीलाई अस्पताल भर्ना गर्नु जरुरी हुनेछैन ।