घरमा अक्सिजन जगेडा नराख्न र फिर्ता गर्न आह्वान

समाचार

२० वैशाख, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोरोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिन्डर फिर्ता गर्न अपिल गरेका छन् ।
कोरोना संक्रमण भइहाले अक्सिजनले बचाउने भन्दै सर्वसाधारणहरूले आफूसँग भएको अक्सिजन सिलिन्डर फिर्ता नगरेपछि अहिले अभाव देखिएको छ । अक्सिजनको सिलिन्डर व्यक्तिको घरमा, जलविद्युत आयोजनामा ठुला गाडीको वर्कसपमा र सुनका गरगहना बनाउने कारखानामा सिलिन्डर जगेडा रहेको अध्यक्ष बस्नेतले बताए ।

उनले भने, ‘सिलिन्डर घरमा राख्ने सबैले कम्पनीमा फिर्ता गरिदिनुस् । यसले मान्छेको ज्यान बचाउँछ । यो ठुलो दान गरे सरह हो । यस्तो बेला सिलिन्डर घरमा राख्नु भनेको अपराध हो । सिलिन्डरको अभावले कोही मान्छे छट्पटाएर मर्ने अवस्था आयो भने पाप गरे सरह हुन्छ ।’

यस्तै अध्यक्ष बस्नेतले ठुला ठुला जलविद्युत आयोजनामा पनि अक्सिजन सिलिन्डरको ठुलो भण्डारण रहेकोले फिर्ता ल्याउनुपर्ने बताए ।

‘ठुला आयोजनामा फलाम काट्न, जोड्न अक्सिजनको आवश्यकता पर्छ’, उनले भने, ‘अधिकांश जलविद्युत आयोजनामा अक्सिजनका सयौँ सिलिन्डर होल्ड भएर बसेको छ । ती सबै सिलिन्डर फिर्ता गर्नुपर्छ । मान्छेको जीवन बचाउनु अहिलेको पहिलो काम हो ।’