उपत्यकामा निषेधाज्ञाको पहिलो दिन: कतै जाम, कतै सुनसान

Top Post समाचार

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानबाट निषेधाज्ञा सुरु भएपछि प्रहरीलाई चोकचोकमा परिचालन गरिएको छ । उपत्यकाका प्रमुख नाका र मुख्य सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरी खटिएका छन् ।
काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार बिहीबार बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यका छिर्ने नाका र चोकचोकमा चेक जाँच कडाई पारिएको छ । पास र अत्यावश्यकबाहेक जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन नभएको कार्यालयले जनाएको छ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यकामा प्रवेश पाउने छैन। यद्यपी परिचपत्रधारी व्यक्तिहरु कार्यालय समयमा एकैपटक सडकमा निस्किदा निषेधाज्ञाको पहिलो दिनकै विभिन्न स्थानमा जामसमेत भएको थियो ।