गोरखामा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु

Headlines समाचार

७ वैशाख, गोरखा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ ।

भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

“बिहान करिब ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष खड्काले भने, “मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् ।” वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ती पुरुषमा सोमबार मात्र कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

भारतमा लामो समयसम्म रोजगारीका सिलसिलामा रहेका उनी केही समयअघि मात्र घर फर्किएका वडाध्यक्ष खड्काले बताए । कोरोना सङ्क्रमणबाट मृत्यु भए ती पुरुषको सम्पर्कमा आएकाको तत्काल कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलनको तयारी भइरहेको उनले जानकारी दिए ।

सङ्क्रमितको सम्पर्कमा रहेकार्लाइ सुरक्षित रहन आग्रह गरिएको र आवश्यकताअनुसार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।