सरकारलाई दिएको समर्थन फिर्ता लिंदै माओवादी केन्द्र

Headlines राजनीति समाचार

५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्नको लागि स्थायी समिति बैठक बस्न लागेको हो ।

बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन लेखेरै फिर्ता दिने उनले बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकअघि नै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको बताइएको छ ।

उनले भने ‘हाम्रो यो सरकारलाई कहिल्यै समर्थन नै छैन। यो सरकारलाई हाम्रो समर्थन नरहेको लेखेर दिन्छौं।’ उनले सोमबार बस्ने स्थायी समिति बैठकबाट समर्थन फिर्ताको निर्णय हुन सक्ने बताएका छन् ‘भोलि स्थायी समिति बैठक बस्दैछौं, यो पनि एजेन्डा होु, श्रेष्ठले भने, अब निर्णय हुन्छ।’

त्यस्तै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने निश्चित भएको स्थायी समिति सदस्य मात्रिका यादवको भनाई छ । कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले संघीय सरकारमा पनि ओली सरकार फेर्ने तयारीमा रहेको बताइएको छ ।