पत्रकार महासंघ चुनाब: उमेद्वारको नाम नै मतपत्रमा नभएपछि ललितपुरको चुनाब बिथोलियो

Headlines समाचार

२५ चैत्र, काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको मतदान स्थगित भएको छ ।

निर्वाचन समितिले मतपत्र नै दिन बिर्सिएपछि विवाद भएको छ । उपत्यका प्रदेशका उम्मेदवारहरुको मतपत्र नै मतदातालाई नदिएपछि विवाद सुरुवात भएको थियो ।

निर्वाचन विहान करिब साढे ९ बजे सुरु भएको थियो । २१ जनाले मतदान गरिसकेका थिए । मतदानका क्रममा उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवार ज्ञानप्रसाद पौडेलले आफ्नै नाम खोज्दा मतपत्र नै फेला पार्न सकेनन् । त्यसपछि विवाद सुरु भएको थियो ।

यसअघि हालेको मतपत्र रद्द गर्ने र पुनः मतदान गराउने विषयमा छलफल भइरहेको छ ।

यस्तै समस्या काठमाडौं शाखामा पनि भएको थियो । काठमाडौं शाखामा पहिला हालिएको मतपत्र रद्द गरेर पुनः मतदान सुचारु गरिएको छ ।

महासंघको २६औं महाधिवेसनअन्तर्गत आज काठमाडौं उपत्यका लगायत देशभर एकसाथ निर्वाचन भइरहेको छ ।

नेतृत्व चुन्न देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचन गर्न लागिएको हो ।

केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एकसाथ मतदानको व्यवस्था मिलाएको हो । देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्ले जानकारी दिए ।

महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संगठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरुसम्म बनेको छ ।

अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि हुने निर्वाचनमा कतिपय स्थानमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ ।

महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । निर्वाचनमा १३ हजार १२२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।

महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा रहँदा गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।