नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको हालसम्मकै ठूलो आईपीओ आजदेखि, ख्याल गर्नुपर्ने ५ कुरा !

अर्थ

२ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) को साधारण शेयर खुला भएको छ । सो बैङ्कको ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर शुक्रबारदेखि बिक्रीका लागि खुला गरिएको हो । यो शेयर हालसम्म बजारमा जारी भएका साधारण शेयरमध्येकै सबैभन्दा ठूलो हो । यो शेयरका लागि आगामी मंगलबार साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ ।

नेपालकै एकमात्र पूर्वाधार बैङ्कको रुपमा रहेको इन्फ्रास्ट्रक्चर बैङ्कले आफ्नो चुक्ता पुँजीलाई २० अर्ब पुर्याउन सो बराबरको आईपीओ ल्याउन लागेको हो । ८ अर्बको रुपैयाँको ८ करोड कित्ता आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषका लगानीकर्तालाई तथा ०.२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिनेछ ।

निफ्राले आईपीओ निष्कासनका लागि यही मंसिर ८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले निवेदनबारे अध्ययन गरी मंसिर २४ गते बैङ्कलाई आवश्यक जिज्ञासा पठाएको थियो । बोर्डले पठाएका जिज्ञासाको बारेमा जवाफ प्राप्त भएपछि बोर्डले पुस १० गते बैङ्कको आईपीओ र विवरणपत्रलाई अन्तिम स्वीकृति दिएको थियो । बोर्डको स्वीकृतिसँगै सो विवरणपत्र राष्ट्र बैङ्क र कम्पनी रजिष्ट्रारमा दर्ता गरि विवरणपत्रसहित आह्वानपत्र समेत प्रकाशन गरिसकेको छ । यसअघि बैङ्कले एनआईबीएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । शेयरको प्रत्याभूतिकर्ता भने नागरिक लगानी कोषलाई तोकि सकिएको छ ।

निफ्राको आईपीओबारे भुल्नै नहुने तथ्यहरु

नेपालको सबैभन्दा ठूलो आईपीओको रुपमा आउन लागेको यो शेयरप्रति यतिबेला सबैको चासो छ । स्वीकृत आवेदकमध्ये सबैले प्राप्त गर्नसक्ने भएकोले यो शेयर सबैको आकर्षणको केन्द्र बनेको हो । तर, यसप्रति आकर्षण बढ्नुको विविध कारण छन् ।

पहिलो त, लामो समयपछि कमर्शियल बैंकिङ क्षेत्रमा एउटा नयाँ बैङ्क थपिएको छ । यो मूल आकर्षको विषय हो । सबैभन्दा ठूलो वा सबैलाई पर्ने आईपीओ भएकोले पनि यसमा अर्को आकर्षण देखिएको हो । पछिल्लो समय दोस्रो बजारमा आएको उछालले यस्ता शेयरको कारोबारमा उच्च नाफाको अपेक्षा गरेकोले पनि लगानीकर्ताहरु यसमा उत्साहित भएका हुन् । अपेक्षा गरेअनुसार भए वा नभए पनि यो बैङ्कमा गरिएको लगानीबाट दोस्रो बजारमार्फत् उचित कारोबार हुने सम्भावना पनि उत्तिकै रहेको जानकारहरु बताउँछन् ।

त्यसो भन्दै गर्दा आईपीओ भर्नुअघि लगानीकर्ताले केही विषय भने जान्नैपर्ने हुन्छ, जुन यसप्रकार छ ः

१. १० कित्ताको भ्रम नपाल्नुस्

अहिले बजारमा आईपीओ भर्ने भन्नेबित्तिकै १० कित्ता भन्ने भ्रम व्यापक छ । त्यसैले अहिले पनि लाखौँ लगानीकर्ता यस्ता छन् जो आईपीओमा १०÷१० कित्ताका दरले भर्ने तयारी गरिरहेका छन् । तर, निफ्राको आईपीओ भर्दा यस्तो भ्रम ‘घातक’ हुनसक्छ । यसले धेरै शेयर पर्ने सम्भावना बन्द गराइदिन्छ ।

अघिल्लोपटक चन्द्रागिरी हिल्सको आईपीओमा १३ लाखभन्दा बढी आवेदकले आवेदन दिएका थिए । आवेदकको त्यो संख्या योभन्दा बढी हुने निश्चित नै छ । यस्तो संख्या करिब १५ लाख पुग्ने अनुमान छ । यो हिसाबले पनि प्रत्येक व्यक्तिले ५० कित्तासम्म शेयर पाउने निश्चितजस्तै छ ।

तर, थाहा नपाएर वा पाएर पनि लगानी गर्ने क्षमता नभएर समेत कतिपयले थोरै मात्रै लगानी गर्ने तयारी गरिरहेका हुन सक्छन् । यदि त्यसो भयो भने यसले थप शेयर बाँडफाँटको सम्भावना बढाउँछ । यसले यो आईपीओमा ६० कित्ता वा सोभन्दा माथि आवेदन दिनुपर्ने आवश्यकता छ ।

२. दुईवटा एकाउन्टबाट आवेदन नगर्नुस्

अहिले एउटा व्यक्तिको नाममा २ वटासम्म डिम्याट खाता खोल्नसक्ने व्यवस्था छ । तर, यसरी दुईवटा डिम्याट खाता खोल्न दिनुको कारण अरु केही होइन, एउटा डीपीको सेवा चित्तबुझ्दो भएन भने अर्कोमा खाता खोलेर आफ्नो अभौतिक शेयरहरु त्यसमा ट्रान्सफर गर्न सकियोस् भन्ने हो ।

तर, कतिपयले भने दोब्बर शेयर पर्ने लोभले दुईवटै एकाउन्टबाट आवेदन गरिरहेका हुन्छन् । यदि त्यसो भयो भने दुईवटै आवेदन रद्द हुन्छ । यसले गर्दा शेयर पाउने अवसरबाट त्यस्तो लगानीकर्ता वञ्चित हुन सक्नेछ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको केन्द्रिकृत प्रणालीले यसलाई तत्कालै पत्ता लगाइहाल्छ । त्यसैले योमात्रै नभएर कुनै पनि आईपीओमा आवेदन गर्दा दोहोरो आवेदन गर्ने गल्ती कहिलै गर्नु हुँदैन ।

३. बैङ्कमा पर्याप्त मौज्दात राख्नुहोस्

आईपीओको आवेदन रद्द हुने अर्को प्रमुख कारण बैङ्कमा पर्याप्त मौज्दात (ब्यालेन्स) नहुनु पनि हो । कतिपयले आईपीओ भर्दा बैङ्कमा कति पैसा छ भन्ने बिर्सिरहेका हुन्छन् । आस्वा प्रणालीमा कुनै आवेदकले दिएको आवेदन बराबरको रकम बैङ्क खातामा भए मात्रै त्यस्तो रकम रोक्का भएर बस्छ, ब्यालेन्स नै नभए आवेदन भेरिफाई हुँदैन । यस्तो अवस्थामा शेयर पर्ने सम्भावना पनि हुँदैन ।

त्यसैले आईपीओ भर्नुअघि आफ्नो बैङ्कमा आफूले भरेको शेयर संख्यालाई पुग्ने रकम छ कि छैन भने निश्चित गर्नुपर्छ ।

४. सकभर मेरो शेयरबाट आफैँ शेयर भर्नुहोस्

शेयर भर्ने अहिले २ वटा तरिका छ । पहिलो मेरो शेयर सफ्टवेयर वा एप्लिकेसन । दोस्रो, बैङ्क । मेरो शेयरको एप्लिकेसनमार्फत् शेयर भर्दा यस्तो आवेदन सफल वा असफल भएको जानकारी तत्कालै थाहा हुन्छ । असफल भएमा फेरि प्रयास गर्न पनि सकिन्छ ।

बैङ्कमार्फत् आवेदन गर्दा भिडभाडका कारण आवेदन छुट्ने सम्भावना पनि हुन सक्छ । ठूला आईपीओ खुल्दा सिस्टममा समस्या आउने भएकोले बैङ्कहरुले पनि रियल टाइममा आवेदन गर्न सक्दैनन् । यस्तो अवस्थामा बैङ्क भन्दा आफैंले शेयर भर्नु बढी व्यवसायिक र विश्वसनीय हुन सक्छ । बैकल्पिक रुपमा बैङ्क प्रयोग गर्नुपर्दा पनि त्यति अविश्वसनीय भने हुँदैन ।

५. साधारण हिसाब गर्नु गल्ती पनि हुन सक्छ

अहिलेको शेयर बाँडफाँट प्रणाली अनुसार कुल शेयर संख्यालाई आवेदककको संख्याले भाग गरेर एक जनालाई कति कित्ता शेयर पर्ला भन्ने आँकलन गर्न सकिन्छ । सामान्यतया यस्तो आकलन मिलिरहेको अवस्था पनि छ ।

तर, यो शेयरको हकमा यस्तो आकलन फेल हुन पनि सक्छ । लगानीकर्ताको ‘१० कित्ते मानसिकता’, लगानी गर्ने रकमको अभाव वा अन्य कारणले आवेदन रद्द हुँदा यसको असर अन्य आवेदकलाई पर्न सक्छ । यस्तो अवस्थामा साधारण हिसाबले गरिएको अनुमानभन्दा धेरै शेयर पर्न पनि सक्छ । त्यसैले यसमा साधारण हिसाब गरेभन्दा केही धेरै कित्ता शेयरको लागि आवेदन गर्नु उपयुक्त छ ।

कतिमा हुन्छ कारोबार ? कति पुग्ला मूल्य ?

इन्फ्रास्ट्रक्चर बैङ्कले प्रकाशन गरेको रिपोर्ट अनुसार अघिल्लो आर्थिक वर्षसम्म यो बैङ्कको प्रतिशेयर नेटवर्थ १ सय १३ रुपैयाँ ६२ पैसा रहेको छ । पहिलो कारोबारको रेञ्ज निर्धारण गर्दा नेटवर्थलाई तल्लो सीमा र त्यसको ३ गुणालाई माथिल्लो सीमा मानिन्छ । यसप्रकार यो शेयरको कारोबार १ सय १४ रुपैयाँ देखि ३ सय ४० रुपैयाँसम्ममा हुन सक्छ ।

अहिलेको बढ्दो बजारको आधारमा यो बैङ्कको मूल्य माथिल्लो सीमामा कारोबार हुने र थप बढ्ने सम्भावना छ । तर, बजारमा हुने चलखेलका कारण तल्लो रेञ्जमा वा बीचमा कारोबार पनि हुन भने सक्छ । यस्तै अवस्था प्रभु लाइफ इन्स्योरेन्सको शेयरमा पनि भएको थियो । तर, कम मूल्यमा कारोबार भयो भने पनि लगानीकर्ता विवेकशील भएर वास्तविक मूल्यस्तरसम्म नपुगेसम्म होल्ड भने गर्नुपर्ने हुन्छ ।

यो शेयरको मूल्य कति पुग्ला भन्ने आकलन गर्नु मुस्किल नै छ । बैङ्कको वित्तीय अवस्था र भावी लक्ष्य हेर्दा बैङ्कको शेयर धेरै माथि पुग्ने अवस्था देखिँदैन । अहिले कमर्शियल बैङ्क समूहका शेयरहरु २ सय रुपैयाँको तल्लो रेञ्जबाट सुरु भएका छन् । यही क्षेत्रअन्तर्गत पर्ने यो कम्पनीको मूल्य पनि कारोबारको माथिल्लो सीमा (३ सय ४०) देखि ५ सय रुपैयाँको हाराहारीमा पुग्नसक्ने विश्लेषकहरुको अनुमान छ । तर, यसबारे बजारमा विश्लेषकहरु एकमत भने छैनन् । कसैले यो शेयरलाई पुनर्बीमा कम्पनीसँग तुलना गरेका छन् । कतिपयले भने सिभिल वा सेञ्चुरी बैङ्कको शेयरमूल्यसँग पनि तुलना गरिरहेका छन् ।

ठूला १० मध्ये एउटा कम्पनी बन्ने

इन्फ्रास्ट्रक्चर बैङ्क पनि बजार पुँजीकरणको हिसाबले उत्कृष्ठ १० कम्पनीको सूचीमा पर्नसक्ने सम्भावना भएको अर्को एउटा कम्पनी हो । आईपीओ जारी भएपछि यो कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्छ । अहिले ७० अर्ब भन्दा कम पुँजीकरण भएका कम्पनी समेत बजार पुँजीकरण भएका कम्पनीमा परेको अवस्थामा यो कम्पनी पनि त्यो सूचीमा तत्कालै पुग्नसक्ने सम्भावना छ ।

पूर्वाधार बैङ्कको बारेमा

३ वर्षअघि नेपाल राष्ट्र बैङ्कबाट कारोबार अनुमति पाएको यो बैङ्क पूर्वाधार क्षेत्रमा लगानी गर्ने विशिष्टिकृत बैङ्क हो । यो कम्पनीमा १० प्रतिशत सरकारको लगानी छ । ५० प्रतिशत लगानी निजी क्षेत्रको रहँदा बाँकी ४० प्रतिशत शेयर सर्वसाधारण लगानीकर्ताको हुनेगरी आईपीओ जारी गर्न लागिएका छ ।

यो बैङ्कले ठूला प्रकारका निक्षेप संकलन गर्ने र कर्जा पनि ठूलो स्केल र सीमित क्षेत्रमा मा प्रवाह गर्ने अनुमति प्राप्त गरेको छ । हालसम्म पूर्वाधार क्षेत्रका केही बैङ्कमा मात्रै लगानी सम्झौता गरिएको छ । बैङ्कले स्थापनाकालदेखि नै नाफा प्राप्त गरे पनि यो संकलित पुँजीबाट प्राप्त भएको ब्याज रकम मात्रै हो । यद्यपि हालसम्म यो कम्पनीको खराब कर्जा वा जोखिमयुक्त कर्जा शुन्य छ जुन सकारात्मक पक्ष हो ।

यो बैङ्कले यसवर्ष प्रतिशेयर ७.०६ रुपैयाँ आम्दानी गरेकोमा आईपीओ निष्कासनपछि चालु आर्थिक वर्षमा यस्तो आम्दानी ५.५८ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । दोस्रो वर्ष ७.६७ रुपैयाँ र तेस्रो वर्ष ८.८२ प्रतिशत आम्दानी हुने अनुमान छ । त्यसैले यो शेयरमा केही वर्षसम्म धेरै प्रतिफलको अपेक्षा गर्नसक्ने अवस्था भने छैन । यही प्रक्षेपण र बजार सम्भावनाको आधारमा रेटिङ एजेन्सी कम्पनी इक्राले पनि यसलाई आईपिओ ग्रेड ४ रेटिङ दिएको छ । यो रेटिङले औसतभन्दा कमजोर अवस्थालाई देखाउँछ ।