संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन, काठमाडौंमा ५० हजार मानिस उतार्ने

Headlines समाचार

१४ पुष, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले आज देशभर विरोध प्रदर्शन गर्दैछ । प्रचण्ड–माधव पक्षले काठमाडौं उपत्यकामा ५० हजारको संख्यामा मान्छे उतार्ने दाबी गरेको छ । नेकपाको प्रचण्ड–माधव पक्षले बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न आठ क्षेत्रबाट जुलुुस निकाल्दैछ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्सालबाट जुलुस निकाल्ने तयारीमा सो समूह छ ।

त्यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिएका छन् । सापकोटाले आज ११ बजे प्रतिगमनका विरूद्ध प्रत्येकले टाउकोमा कालो कफन बाँधेर प्रदर्शनमा उत्रिन आह्वान गरेका छन् ।

यसैबीच नेकपाको प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शनका लागि सडकको बीच भागमा नै मञ्च बनाएपछि बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ । प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।