म कुनै गुटको प्रवक्ता होइन, नेकपाको हुँ : श्रेष्ठ

Headlines राजनीति समाचार

७ पुस, काठमाडौं। नेकपाका नेता नारायणकाजी श्रेष्ठले आफू नै पार्टीको आधिकारिक प्रवक्ता भएको दावी गरेका छन्। नेकपा केन्द्रीय समितिको बैठकपछि आयोजित प्रेस ब्रिफिङका क्रममा उनले आफू नै नेकपाको प्रवक्ता भएको दाबी गरेका हुन्।

तपाईलाई प्रवक्ताबाट हटाएको रहेछ नि भन्ने प्रश्नको जवाफमा उनले आफू कुनै व्यक्ति र गुटको नभइ नेकपाको प्रवक्ता बताए। श्रेष्ठले आफू कुनै व्यक्ति र गुटको प्रवक्ता नभएको बताए।

‘म नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवक्ता हुँ। यो पार्टीको बैठकले यस सन्दर्भमा मलाई थप उत्साहित पार्ने अगाडि बढ्ने निर्देशन दिएको छ’, उनले भने, ‘कुनै तथाकथित गुटको कुनै भेलाको कुनै निर्णयसँग नेकपाको प्रवक्ताको जिम्मेवारीसँग सम्बन्धित छैन।’

नेकपा केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय समेत गरेको छ। बैठकमा दुई तिहाईभन्दा बढी केन्द्रीय सदस्य सहभागि थिए। यता आज बिहान मात्रै बालुवाटारमा बसेको केपी ओली पक्षको बैठकले श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।