कम्पनी सँग कुनै साईनो नै नभएका श्रेष्ठलाई तानेर चरित्र हत्या गरियो : याम्बालिङ हाइड्रो

Top Post समाचार

२६ मंसिर, काठमाडौं । याम्बालिङ हाइड्रोपावरले आफ्नो कम्पनीसँग जोडेर सत्तारुढ दल नेकपाका प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठको चरित्रहत्या गरेकोप्रति घोर आपत्ति जनाएको छ ।

पूर्वसांसद एवं नेकपाका नेता कमानसिंह लामाको मृत्यु भएपछि विभिन्न सञ्चारमाध्यममा नारायणकाजीसँग जोडेर आर्थिक लेनदेनको विवाद रहेको समाचार बाहिर आएपछि शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै हाइड्रोपावरले लामा र उनकी श्रीमती इन्द्रमाया तामाङले सञ्चालन गरेको गरेको कम्पनीमा गम्भीर आर्थिक संकट परेको र कम्पनी सञ्चालन नै गर्न नसकेर कम्पनीमा सेयर थप्ने निर्णय भएको जनाएको छ ।

‘उहाँहरूले सञ्चालन गरेको याम्बालिङ हाइड्रोपावरमा गम्भीर आर्थिक संकटमा परेको तथा कम्पनी सञ्चालन गर्न नसकी समस्या समाधानका लागि पटकपटकको अनुरोध पछि’, कम्पनीका कार्यकारी अध्यक्षद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आपसी सहमतिमा कम्पनीको आर्थिक संकट समाधान गर्न साविकका सञ्चालक र हामीबीच आर्थिक, कानुनी र व्यावहारिक सबै प्रकिया पूरा गरी यस कम्पनीको टेकओभर गरिएको थियो ।’

नेता श्रेष्ठले आफू निकट लामाले उठाएको विवादलाई उनकै अनुरोधमा समाधान गर्ने उद्देश्यले छलफललाई अन्यथा भन्न नमिल्ने कम्पनीले जनाएको छ ।

उक्त कम्पनीसँग कुनै साइनो नै नभएका र विवाद समाधानमा सहयोग गरेका नेता नारयणकाजीलाई मुछेर चरित्रहत्या मात्रै गर्न खोजेको कम्पनीले आरोप लगाएको छ ।

‘यस स्थितिमा यस कम्पनीसँग संलग्न नै नभएका पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता श्री नारायणकाजी श्रेष्ठ प्रकाशलाई जोडी उहाँको चरित्र हत्या गर्ने उद्देश्यले आएका भ्रामक, कपोलकल्पित एवं राजनीतिक दुराशययुक्त भावनाले सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण हो’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता जस्तो व्यक्तिले आफू निकट स्व.कमानसिह लामाले उठाएको विवादलाई उहाँकै अनुरोधमा समाधान गर्ने प्रयास स्वरुप गरेको छलफललाई अन्यथा भन्न मिल्दैन ।’

यस विषयमा कुनै जानकारी चाहिएमा कम्पनीमा वा उनकै पत्नी इन्द्रमायालाई सम्पर्क गर्नुपर्नेमा त्यसो नगरी मिडियाहरूले एकतर्फी रुपमा श्रेष्ठलाई बदनाम गरेको कम्पनीले आरोप लगाएको छ ।

उसले विज्ञप्तिमा भनेको छ, ‘यस विषयमा सत्यतथ्य जानकारी लिन स्वर्गीय कमानसिंह लामाकी पत्नी तथा हाल कम्पनीकी सञ्चालक इन्द्रमाया तामाङसँग सम्पर्क गर्न सकिने वा यस कम्पनीको कार्यालयबाट जानकारी लिन सकिने छ ।’

नारायणकाजीलाई फसाउने आशयबाट आएका समाचारहरूमा विश्वास नगर्न पनि कम्पनीले सबैमा आग्रह गरेको छ ।