फ्रान्समा पुन लकडाउन : पेरिस छाड्नेहरुको ७०० किलोमिटर लामो ट्राफिक जाम

अन्तरास्ट्रिय समाचार

१४ कार्तिक, पेरिस । फ्रान्समा राष्ट्रब्यापी लकडाउन लागू हुन केही समयअघि मात्र राजधानी पेरिस छाड्नेहरुको लर्को लागेको छ । बिहीबार साँझ कारहरुको ७ सय किलोमिटर लामो ट्राफिक देखिएको स्थानीय मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि शुक्रबार मध्यरातदेखि फ्रान्समा लकडाउन लागू भएको छ । नयाँ प्रतिबन्धअनुसार मानिसहरुलाई घरमा अत्वाश्यक काम र स्वास्थ्य कारणबाहेक घरमा नै बस्न भनिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले कोरोनाभाइरसको दोस्रो लहरले पहिलो लहरको तुलनामा पूरै देशलाई प्रभावित पार्ने खतरा रहेको बताएका छन् । अप्रिल यता फ्रान्समा कोरोनाभाइरसको कारण मर्नेको संख्या सबैभन्दा उच्च रहेको छ । बिहीबार थप ४७ हजार ६३७ संक्रमित थपिँदा २५० जनाले ज्यान गुमाएका छन् ।

फ्रेन्च मिडियाका अनुसार पेरिसका बासिन्दाहरु ग्रामिण क्षेत्रमा लकडाउन बिताउनका लागि सहर छाडेका छन् । गत मार्चमा पहिलो पटक लकडाउन लागू गर्दा पनि यस्तै दृश्य देखिएको थियो ।

केही क्षेत्रहरुका बासिन्दा त पेरिसबासीहरुसँग क्रुद्ध नै देखिएका थिए । ‘हामी सबैलाई घरमा बस्न भनिरहेका छौँ । तर, पेरिसबाट ४ हजार जना तपाईंको ठाउँ आउँदैछन् र त्यसमध्ये एक तिहाई थाहै नभइ संक्रमित छन् भने उनीहरुले संक्रमणलाई थप फैलाउने खतरा हुन्छ,’ स्थानीय पत्रिकामा एक जनाले विचार प्रस्तुत गरेका छन् ।

पहिलो लकडाउनका दौरान संक्रमणबाट पेरिस र उत्तर पूर्वीभाग बढी प्रभावित भएका थिए । तर, यसपटक देशका सबै भागमा संक्रमण फैलिएको छ ।

बीबीसी